अधिवक्ता वीरेन्द्रप्रसाद यादव

वास्तवमा लगानी गर्नु मात्र उपलब्धि होइन, लगानी विस्तार गर्नु, उत्पादनमूलक क्षेत्रको वृद्धि गर्नु र समग्रमा विकासशील भई अघि बढ्नु उद्यमशीलता हो। आर्थिक तथा गैरआर्थिक तत्व, सरकारी नीति तथा कार्यक्रम र वातावरण तथा प्रतिस्पर्धालगायत अवस्थामा परिवर्तनको खाँचो छ।
कुनै व्यवसायको विकास, विस्तार तथा सञ्चालन निम्ति महत्वपूर्ण तत्व पूँजी हो। पूँजीविना न कुनै उद्यमको विकास हुन सक्छ, न विस्तार, न सञ्चालन नै। उद्योग व्यवसाय सञ्चालन गर्न पर्याप्त पूँजीको आवश्यकता पर्दछ। पूँजीको उपयोगबाट नै एउटाको भूमि अर्कोले प्रयोग गर्छ र उत्पादनका अन्य सामग्री सङ्कलन गरी त्यसबाट उत्पादन क्रिया सञ्चालन गरिन्छ। तर राष्ट्रमा पूँजीको समुचित व्यवस्था छैन वा व्यावहारिक कठिनाई छ भने उद्यमीहरू उत्प्रेरित हुन सक्दैनन्। व्यवसायको प्रारम्भदेखि नै कर्मचारी, कच्चा पदार्थ उत्पादन, बिक्री वितरण, अनुसन्धान, ऊर्जा, औद्योगिक सुरक्षा, औद्योगिक व्यवस्थापन आदिका लागि प्रशस्त खर्च गर्नुपर्ने हुँदा पूँजी उद्यमशीलता विकासको ज्यादै महत्वपूर्ण तत्व हो। प्रयोगबाट पनि यो कुरा देखिएको छ कि पूँजीको उपलब्धताबाट उपजमा वृद्धि हुन्छ र नाफा वृद्धिसँगै थप लगानीको स्रोत पहिल्याउने कार्य गरिन्छ र यसले उद्यमशीलता विकासमा अर्को अवसर प्रदान गर्दछ। अचेल पूँजी भन्नासाथ वित्त मात्र नभएर मानव संसाधनलाई पनि लिन थालिएको छ। योग्य, दक्ष व्यवस्थापक, कर्मचारी र कामदारहरूबाट नै सफल उद्यमको कल्पना गर्न सकिने हुँदा त्यस्ता व्यक्तिको खर्च बेहोर्न पनि प्रशस्त पूँजीको आवश्यका पर्दछ। नेपालमा साना उद्योगको लागि ग्रामीण विकास बंैक ज्यादै लोकप्रिय साबित भइसकेको छ भने मझौला तथा ठूला उद्यमका लागि एचआइडिसी तथा गैरसरकारी तथा अन्य आर्थिक संस्थाले खेलेको भूमिका प्रशंसनीय छ। सङ्घीय नेपालमा पूँजी अभाव समस्याको रूपमा रहेको प्रशस्त उदाहरण छ।
आदम स्मिथका अनुसार श्रम विभाजनले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नयाँ अवसर वा उद्यमको सम्भावना रहेपनि उपरोक्त उद्यमको लागि आवश्यक श्रम उपलब्ध छैन भने उद्यमशीलताको विकास हुन सक्दैन। त्यसैगरी उत्पादनका प्रमुख चार तत्वमध्ये श्रम नै सबैभन्दा महत्वपूर्ण तत्व हो किनभने श्रमबाट नै अन्य साधानको समुचित पहिचान हुन्छ। त्यसैले दक्ष तथा कुशल श्रमशक्ति प्राप्त गर्नु उद्यमीको अर्को चुनौती हो। तर अल्पविकसित देशमा दक्ष श्रमशक्तिको कमी हुन्छ। त्यसैले उनीहरूलाई तालीम तथा शिक्षा दिएर उद्यम सञ्चालन गर्नुपर्ने स्थिति आएमा उद्यमीहरू उत्साहित बन्न सक्दैनन्। अर्कोतर्फ श्रम सङ्गठनहरू कति हदसम्म सक्रिय छन् भन्ने कुरा पनि उद्यमीले विचार गरेको हुन्छ। यसरी उद्यमशीलता विकासमा श्रमले महत्वपूर्ण प्रभाव पारेको हुन्छ। नेपालमा सीपमूलक जनशक्ति उत्पादनमा खासै चासो राखिएको छैन। प्राविधिक दक्षता हासिल गरेकाहरू तलब अभाव, रोजगार पाउने चुनौतीलगायत कारणले विदेश पलायन हुन बाध्य छन्। आयात गरिएको दक्ष जनशक्तिलाई कैयांै गुणा बढी सेवा सुविधा दिनुपर्ने बाध्यता छ। कानूनी प्रावधानको कुरा गर्दा श्रम ऐनले आफ्नो जनशक्ति दक्ष बनुन्जेल विदेशीलाई राख्न सकिन्छ। तर यसको कार्यान्वयन ठ्याम्मै छैन। जसले गर्दा दक्ष जनशक्तिको अभाव दिन प्रतिदिन बढ्दैछ। यसले भविष्यमा ठूलो समस्या सिर्जना गर्न सक्छ। जनसङ्ख्या अत्यधिक छ तर सीपको अभाव छ। आर्थिक विकासको मुख्य खम्बा दक्ष जनशक्ति भएकोले हाम्रो शिक्षा नीतिमा परिवर्तनको खाँचो त छ नै, प्राविधिक शिक्षा, वैज्ञानिक शिक्षा लगायतमा प्रवद्र्धन अपरिहार्य छ।
कच्चा पदार्थविना उद्योगको परिकल्पना गर्नु व्यर्थ हुन्छ, त्यसैले कच्चा पदार्थको सुगम उपलब्धताबाट पनि उद्यमशीलता विकासमा सहयोग पुग्छ । हुन त कच्चा पदार्थको कमीलाई नव प्रवर्तन तथा प्रविधि विकासबाट पूरा गर्न सकिन्छ तर पनि उत्पादनको सबैभन्दा महत्वपूर्ण कुराविना उद्यमको कल्पना गर्न सकिन्न। नेपाल एउटा गरीब तथा अविकसित मुलुक भएकोले विदेशबाट कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ। यद्यपि नेपालमा अथाह प्राकृतिक स्रोत साधन उपलब्ध छ, तर पनि प्रविधि र प्राविधिकको अभावमा कच्चा पदार्थको उपभोग हुन नसक्दा उद्यमशीलताको विकास हुन सकेको छैन। विदेशबाट कच्चा पदार्थ आयात गर्नुपर्दा नियमित आपूर्ति हुन नसकेर दोहोरो करको भार थपिन सक्छ। यस्ता कुराले उद्यमशीलता विकासमा प्रभाव पारेको देखिन्छ। कच्चा पदार्थले यसरी उद्यमशील विकासमा प्रभाव पारेको भन्न सकिन्छ। औद्योगिक व्यवसाय ऐनले कच्चा पदार्थकै उपलब्धतालाई मध्यनजर गरी कर छुटको व्यवस्था गरेको छ। सुगम तथा दुर्गम क्षेत्रमा उद्योग सञ्चालन गर्दा धेरै कर छुट हुन्छ। यो सकारात्मक प्रावधान भएपनि कार्यान्वयन त्यति बलियो देखिन्न। भएजति उद्योग सुगम एवं शहरी क्षेत्रमा थुप्रिएका छन्। दुर्गम क्षेत्रमा पनि कच्चा पर्दाथको उपलब्धता धेरै छ। जस्तै यार्सागुम्बा र जडीबुटी र पानी पहाडी क्षेत्रमा पर्याप्त छ। क्षेत्रविशेषको आधारमा उद्योग स्थापनालाई विशेष महत्व दिनुपर्छ। जहाँ निजी क्षेत्रले जोखिम देख्छ, त्यहाँ सरकारी क्षेत्रले लगानी गर्न सक्नुपर्छ। अद्यापि देशका अधिकांश गाविस सदर मुकामको सडकसँग नजोडिनु, मोटर आवतजावत नहुनु ठुलो चुनौती हो। हरेक क्षेत्रमा उद्यमशीलताको समान विकास नभएर असन्तुलित आर्थिक अवस्था छ, जसले सङ्घीयतालाई चुनौती उत्पन्न गर्न सक्छ।
बजार ः उद्योगमा उत्पादनको सम्पूर्ण एकाइ खर्चमूलक हुन्छ भने बजारले आम्दनी गराउँछ।उत्पादित सेवा र वस्तुको वर्तमान स्थितिले उद्यमलाई विस्तार गर्ने, जसोतसो चलाउने वा बन्द गर्ने निर्णयमा पुग्न बजारले सहगोग गरेको हुन्छ। त्यसैले नयाँ बजारको सम्भावना वा बजारको अकार बढ्दो देखिएमा सम्भाव्य उद्यमीहरू प्रवेश गर्छन्। विगतमा नेपालमा एकाधिकार रहेको सार्वजनिक संस्थाहरू विस्तारै निजीकरण गर्दै जानुबाट उपरोक्त क्षेत्रमा उद्यमीहरू आकर्षित भएको उदाहरणको रूपमा उल्लेख गर्न सकिन्छ। त्यसैगरी वैदेशिक बजारको सम्भावना रहेको उद्योगले उद्यमीलाई सधैं आकर्षित गरेको हुन्छ तथापि सञ्चारको आवश्यक विकास भइ नसक्नु अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्नु र सरकारी नीति स्पष्ट नहुनुबाट नेपाली उद्यमी खासै उत्प्रेरित नभएको पाइन्छ।
प्रविधिले उत्पादन प्रणालीलाई मितव्ययी बनाउँछ। संसारभरि देखिएको तीव्र प्रविधि परिवर्तनसँगै उद्यमी जान सकेको छ कि छैन, अथवा राज्यद्वारा परिवर्तित प्रविधिप्रति कस्तो नीति अवलम्बन गरिएको छ भन्ने कुराले पनि उद्यमको स्थापनामा असर गर्दछ। त्यसका साथै रोबोट, कम्प्युटर, सूचनाका विभिन्न सुविधा उपलब्ध हुन सक्छ या सक्दैन भन्ने कुराले पनि उद्यमशीलता विकासमा असर पारेको हुन्छ। उदाहरण स्वरूप बम्बैको रेकर्डिङ स्टुडियोलाई प्रतिस्थापन गर्न नेपालमा पनि डिजिटल रेकर्डिङ सिस्टमको स्टुडियो खोल्ने उद्यमीहरूलाई लिन सकिन्छ।
उद्यमशीलता विकासमा उपरोक्त आर्थिक तत्वहरूले प्रभाव पारेजस्तै गैरआर्थिक तत्वले पनि प्रभाव पार्ने गर्दछ।
उद्यमशीलता विकासमा सामाजिक मूल्य र मान्यताले पनि ठूलो असर पारेको हुन्छ। उद्यमी पनि समाजको एउटा हिस्सा भएकोले नै सुम्टिर, स्कार्वे, होजलिजकाजिनजस्ता विद्वान्हरूले उद्यमशीलता विकास गर्न सामाजिक वैधताजस्तो वातावरण अत्यावश्यक ठानेका छन्। जुन ठाउँमा उद्यमशीलताको संस्कार विकास भएको छ, त्यहाँ त्यो अवधारण झन् बढी प्रभावकारी रहेको छ। कतिपय स्थापित मूल्य र मान्यतामा समय–सापेक्ष फेरबदल गर्नुपर्ने हुन्छ। जसले गर्दा उद्यमशीलताका अवरोधहरू निर्मूल भएर जान्छ। यसका लागि सरकारको पनि उदार नीति आवश्यक ठानिन्छ। त्यसैले सामाजिक अवस्थाको विश्लेषण नगरी उद्यमशीलता विकास कार्यक्रम असफल हुन सक्छ। जस्तै नेपालमा केही वर्ष यता परिवार नियोजनको स्थायी साधनहरूको विज्ञापन पचाइँदैनथ्यो। तर हिजोआज त्यो स्थिति छैन। यसलाई बरु सामाजिक विकासको एउटा कदमको रूपमा लिन थालिएको छ। त्यसैले उद्यमीले कुनै पनि उद्योग स्थापना गर्नुपूर्व समाजलाई त्यो स्वीकार छ कि छैन भन्ने कुरामा विचार गर्नुपर्छ।
सामाजिक गतिशीलता भनेको सामाजिक तथा भौगोलिक गति र यसको माध्यमसँग सम्बन्धित अध्ययन हो। उद्यमशीलता विकासमा सामाजिक गतिशीलता आवश्यक हुन्छ कि हुँदैन भन्ने कुरामा विद्वानहरूको मतैक्यता छैन। तथापि सामाजिक गतिशीलताबाट उद्यमशीलताको विकास सम्भव हुने कुरा पुष्टि भइसकेको छ। उद्यमी नभएको समाजमा उद्यमशीलताको अवसर हुन्छ वा एउटा पेशा अँगालेको व्यक्ति अर्को पेशामा लाग्दा नयाँ अवसरको प्राप्ति हुन्छ। नेपालीहरू अमेरिका, अस्ट्रेलिया जान रुचाउनु यसैको परिणति हो भन्न सकिन्छ। त्यसैले गतिशील र उद्यमशील मानिस विस्थापित हुन्छ। नयाँ ठाउँमा कच्चा पदार्थ, श्रमशक्ति र उद्यमशील अवसर रहनाले उद्यमीले सफलता पनि हासिल गर्छ। गतिशीलताले भौगोलिक वा व्यावसायिक गति मात्र होइन, मनोवैज्ञानिक भाव पनि बुझाउने हुँदा उद्यमशीलता विकासमा यसको भूमिका कसैगरी गौण मान्न सकिन्न। सामाजिक गतिशीलता निम्न कारणले हुन्छ।
शिक्षा तथा तालीमको विकास, नयाँ स्रोत तथा अवसरको खोजी गर्ने चाहना, विद्यमान ठाउँमा वातावरणीय सुगमताको अभाव तथा सरकारद्वारा विशेष नीति कार्यान्वयन नहुँदा उद्यमशीलता –हास हुन्छ। यसले आर्थिक विकास प्रभावित हुन्छ। यस्ता तत्वमाथि एकात्मक सरकारको ध्यान नपुग्नु स्वाभाविक थियो तर अहिले तीन तहको सरकारले यस्ता समस्या पहिचान गरी समाधानतर्फ पहल गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here