दक्षिण अस्ट्रेलिया, अमेरिकाको क्यालिफोर्निया, अमेजनको जङ्गललगायतका क्षेत्रहरू डढेलोका कारण प्रायः चर्चामा आइरहन्छन्। गत वर्ष अस्ट्रेलियाको जङ्गलमा लागेको आगोले विश्वको ध्यानाकर्षण गराएको थियो। त्यहाँ भएका क्षति साथै वन्यजन्तुको कारुणिक दृश्य एवं डढेलो प्रभावित क्षेत्रका बासिन्दाको बिचल्लीले विश्व मानव समुदायलाई स्तब्ध बनाएको थियो। डढेलोका कारण उक्त क्षेत्रको तापमान बढेर ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्यो। उक्त घटनाले विश्व मानव समाजलाई डढेलोविरुद्ध लड्न प्रेरित गर्ने तथा चेतनशील बनाउने र डढेलोका घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको थियो। तर हाम्रो मुलुकमा यसको ठीक उल्टो भइदियो। विगत वर्षहरूमा भन्दा यस वर्ष यहाँ डढेलोका घटना वृद्धि भयो। यस वर्ष एकै दिन करीब छ सय स्थानमा डढेलो लाग्यो। फागुनको उत्तरार्धदेखि शुरू भएको डढेलो चैत अन्तसम्म जारी छ। अहिले पनि विभिन्न ४७ जिल्लाका करीब चार सय स्थानमा डढेलो सल्किरहेको छ। डढेलोको कारण मुलुकको वातावरणमा प्रदूषण बढ्दै गएर विश्वकै प्रदूषित शहरको उपमा काठमाडौं उपत्यकाले पाएको छ। जङ्गलको डढेलोले बस्ती पनि सखाप पार्ने क्रम जारी छ। यसै साता पर्साका ठोरीमा ६ वटा घर गोठ जलेर खरानी भयो भने मकवानपुर जिल्लामा ३२ वटा घर गोठ जल्नुका साथै एकजनाको ज्यान गएको छ।
प्रायःजसो मानवीय कारणले डढेलो लाग्ने गरेको छ। अधिकांश डढेलो नियतवश र केही भने लापरवाहीका कारण लाग्ने गर्छ। जङ्गलमा झाडी सफा गर्न मानिसहरू जानाजान आगो लगाउँछन्। राम्रो घाँस साथै च्याउ पलाओस्, हिंस्रक जीवजन्तु टाढा भागून्, वन्यजन्तुको शिकार गर्न सहज होस्, रूखबिरुवा सुकाएर काठ दाउरा बनाउन सहजता र जङ्गल पँmडानी गरेर सीमा अतिक्रमण गर्न मानिसहरूले जानाजान आगो सल्काउँछन्। सल्कँदै गएर विकराल रूप लिने हो।
डढेलोले एक स्थानमा मात्रै क्षति हुने होइन। यसले विश्व वातावरणमा असर पार्छ। आगलागीबाट पृथ्वीको तापक्रम वृद्धि हुने, वाटर साइकलमा असर गर्नुका साथै वातावरणमा कार्बनको मात्रा वृद्धि गर्छ। यही कारणले विश्व वातावरण प्रदूषित हुन्छ। हाम्रो मुलुकमा प्रत्येक वर्ष डढेलोका कारण जलाधारीय क्षेत्र र महत्वपूर्ण पारस्थितिकीय प्रणालीको गुणस्तरमा –हास आउने गरेको छ। स्थानीयस्तरमा भने मुलुकमा सन् २००५ देखि हालसम्म १५ वर्षको अवधिमा डढेलोको कारण १०७ जनाको ज्यान गएको तथ्याङ्क छ। १०० जनाभन्दा बढी घाइते हुनुका साथै ९५० वटाभन्दा धेरै घर क्षति भएका छन्। यति हुँदाहुँदै पनि डढेलो नियन्त्रणसम्बन्धी उल्लेखनीय प्रयासहरू हुन सकेका छैनन्। प्रक्रियागत कठिनाइ, नीतिगत समस्या, अप्ठ्यारो भूबनोट, जनतामा चेतनाको कमी, आर्थिक स्रोत तथा दक्ष जनशक्ति, आधुनिक उपकरणको अभावका कारण डढेलो नियन्त्रण प्रभावकारी हुन नसकेको हो। डढेलो नियन्त्रण कार्यलाई प्राथमिकतामा राखेर केन्द्रदेखि राज्यका हरेक स्थानीय तहलाई जिम्मेवार बनाइ वन सुरक्षा निकायसँगको समन्वयमा काम गर्ने गरी डढेलो व्यवस्थापन स्रोत केन्द्र स्थायीरूपमा स्थापना गर्नु जरुरी छ। उक्त केन्द्रमा स्थान अनुसार डढेलो नियन्त्रणमा आवश्यक स्रोत, साधन र जनशक्ति पर्याप्त हुनुपर्छ। यसो गर्न सकिए डढेलो नियन्त्रणका साथै सो आसपासका क्षेत्रमा अन्य कारणले हुने आगलागीसमेत नियन्त्रण गर्न सहज हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here