प्रस, वीरगंज, १८ चैत/
एक सातादेखि वीरगंजमा पुनः कोरोना महामारी फैलिने त्रास बढेको छ। भारतका दक्षिणी राज्यहरूमा पोहोर साल जस्तै अचानक कोरोना सङ्क्रमित बढ्न थालेपछि भारतको कोरोनाको असर वीरगंज हुँदै नेपालको राजधानी काठमाडौंसम्म पुगेको छ। कोरोना महामारी न्यून भएको मौका छोपी नेपाल सरकारले नेपाल–भारत सीमा सहज गरी होटल तथा पर्यटन व्यवसायलाई ऊर्जा दिन थालेको बेला पुनः सरकार गम्भीर बनेर कोरोना महामारी नियन्त्रणको लागि भारतको सीमावर्ती क्षेत्रनजीकका प्रशासनलाई सीमामा कडाइ गर्न र उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
यसैबीच, वीरगंजमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्सा तयारीमा जुटेको छ। तर त्यो तयारी पर्याप्त नरहेको जिल्लाका चिकित्सकहरूको भनाइ छ। यदि सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो र केहीलाई पोहोर जस्तै श्वासप्रश्वासमा समस्या देखियो भने कहाँ राखेर उपचार गर्ने भन्नेबारेमा पनि अहिलेसम्म टुङ्गो लागेको छैन। कोभिड अस्पताल सञ्चालनबारे प्रक्रिया अघि बढे तापनि कहिलेदेखि सञ्चालन हुने भन्नेबारेमा टुङ्गो लागेको छैन।स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर सम्बन्धित पालिकाले कोरोना सङ्क्रमण न्यूनीकरणको लागि पूर्वतयारीका काम गर्न नसकेको बताउँछन्। उनले वीरगंजमा दुई साताभित्र २० जना सङ्क्रमित भेटिनुले कोरोनाको दोस्रो लहर शुरू हुने आशङ्का गरेका छन्। उनले नारायणी अस्पतालका चिकित्सकहरू कोरोनासँग जुध्न तयारी अवस्थामा रहेको बताए। तर सोअनुरूपको तयारी अस्पताल व्यवस्थापन पक्षले गर्न नसकेको चिकित्सकहरूको आरोप छ। नारायणी अस्पतालमा १५ शøयाको आइसियूसहितको आइसोलेशन वार्ड बनाउने निर्णय भए तापनि हालसम्म सञ्चालनमा आएको छैन। यसमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले ८ वटा भेन्टिलेटर र १५ शøयाको आइसियू बेड सञ्चालनमा आउने बताए। उनले तयारीको काम भइरहेकाले छिटै सञ्चालन हुने बताए। उनले सङ्क्रमण पुष्टि भएपछि गम्भीर बिरामीलाई नारायणी अस्पतालकै आकस्मिक कक्षमा राखेर उपचार गर्न सकिने बताए।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पोहोर जस्तै प्रदेशभरिकै सङ्क्रमितको उपचारको लागि वीरगंज महानगर एक्लैले आर्थिक सहयोग नगर्ने बताए। उनले पर्साका १४ वटा पालिकाले आआफ्नो क्षेत्रका सङ्क्रमितको आफैं उपचार तथा व्यवस्थापनको जिम्मा लिनुपर्ने धारणा राखे। उनले क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ, कोभिड अस्पताल सञ्चालनमा वीरगंज महानगरले मात्र किन खर्च गर्ने भन्दै यदि महामारी बढ्यो भने सम्बन्धित पालिकालाई व्यवस्थापन गर्न अपील गरे।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले कोरोनाविरुद्धको तयारी भइरहेको बताए। उनले वीरगंजको नारायणी अस्पतालमा १५ शøयाको आइसोलेशन वार्ड, नेशनल मेडिकल कलेजको कोभिड अस्पताल तथा पर्साको पोखरिया, बगही, भिखमपुरलगायत प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सङ्क्रमितलाई राखेर उपचार गर्न सकिने बताए। जबसम्म अवस्था गम्भीर हँुदैन, तबसम्म सङ्क्रमितहरू होम आइसोलेशनमैं बस्न सक्ने उनको भनाइ छ।
वीरगंजमा खोप लगाएका ६० वर्षीय वृद्ध पुनः सङ्क्रमित
कोरोनाविरुद्धको खोप लगाउने पर्साका एकजना वृद्ध तीन सातापछि सङ्क्रमित भएका छन्। वीरगंज–२५ श्रीसियाका ६० वर्षीय वृद्ध सङ्क्रमित भएका हुन्। उनको गत शनिवार नारायणी अस्पतालमा पिसिआर परीक्षण भएकोमा नतीजा पोजेटिभ आएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार नै एडभान्स हस्पिटलमा भर्ना गरी उपचार भइरहेको थियो। त्यहाँका एकजना चिकित्सकले पिसिआर परीक्षण गर्न सुझाव दिएपछि उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा नतीजा पोजेटिभ आएको थियो। हाल नारायणी अस्पतालको आकस्मिक कक्षमा ती वृद्धको उपचार भइरहेको परिवारजनले बताएका छन्। निजका छोराले गत फागुन २६ गते श्रीसिया स्वास्थ्य चौकीमा बुबाले कोभिशिल्ड खोपको पहिलो डोज लिएको बताए। यस विषयमा नारायणी अस्पतालले पनि छानबिन गरिरहेको जनाएको छ। एक चिकित्सकले यस विषयमा स्वास्थ्य विभागलाई रिपोर्टिङ गर्ने बताए। नेपाल सरकारले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरूपमा विकसित गरेको भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिशिल्डलाई आपत्कालीन प्रयोगको लागि स्वीकृति दिएको छ।