माधव तिमल्सिना, ठोरी, ८ चैत/
वीरगंज–ठोरी हुलाकी सडकमार्गको काम दुईजना ठेकेदारले गर्दै आएपनि निर्धारित समयमा यसपटक पनि काम सम्पन्न हुन सकेको छैन।
सन् २०२० डिसेम्बरसम्म सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा लकडाउनको कारण तीन महीना थप गरी सन् २०२१ मार्चसम्मको अवधि प्रदान गरेको थियो। तर अहिलेसम्म वीरगंजदेखि चमरीसम्म ३० किलोमिटर सडकखण्डमध्ये २० किलोमिटर मात्र सडक कालोपत्र भएको छ। पप्पु कन्स्ट्रक्शनले लिएको यो काम ढिला हुनुमा मुआब्जा विवाद प्रमुख रहेको ठेकेदार कम्पनीले जनाएको छ। मुआब्जाको काम सम्पन्न गर्न ढिला भएकोले सडक निर्माणमा ढिला भएको बताइएको छ। चमरीटोलदेखि ठोरीको चौतारासम्म ३० किलोमिटर सडकको काम कालिका/बानिया जेभी कन्स्ट्रक्शनले लिएको छ।
पहिलो चरणमा यो सडकखण्डको काम दु्रत गतिमा भए पनि पछिल्लो चरणमा २२ किलोमिटरभन्दा बढी काम सम्पन्न भएको छैन। चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकोले एक साताभन्दा बढी समयदेखि निकुञ्जले सडक निर्माणको काम रोकेको छ। ठोरी गापाका प्रमुख पिएल श्रेष्ठले वडा नं. १ र २ मा सडक निर्माणको कामलाई राष्ट्रिय निकुञ्जले रोकेको बताए। उनले ८ किलोमिटर बाँकी सडक निर्माणको लागि हुलाकी सडक कार्यालयका डिभिजनल इन्जिनीयरको ध्यानाकर्षण गराउँदा निकुञ्जले काम रोक्न पत्राचार गरेको बताए। बफर जोन (मध्यवर्ती क्षेत्रमा) हुलाकी सडक परेकोले यस अघि ठेकेदारले निकुञ्जसँग सडकखण्डको बीचमा परेका रूख कटान गर्न इजाजत माग्दा अहिलेसम्म नदिएको कारण बीच सडकमा सालको रूख छाडेर कालोपत्र गर्ने काम गरिएको छ।
ठेकेदार कम्पनीका उद्धव न्यौपानेले बारम्बार ताकेता गर्दा रूख कटानको इजाजत नलिएको कारण सडकखण्डको बीचमा रूख राखेर कालोपत्र गर्नुपरेको बताए। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मणिनाथ बरालले रूख कटानको लागि निकुञ्जले निर्णय गर्न नसक्ने बताए। उनले निकुञ्जभित्र रूख कटानको लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने र सो नहुँदा कटानको इजाजत नदिएको प्रस्ट्याए।
वीरगंज–ठोरी हुलाकी सडकको बीचमा रहेका विद्युत् पोलहरू भने हटाइएको छ। सयौंको सङ्ख्यामा रहेका विद्युत् पोल र निकुञ्जको सालका रूखहरूले सडक निर्माणमा ढिलाइ भएको थियो। विद्युत् पोल हटिसकेको छ तर सालका १६ वटा रूखहरू हटाउन नसक्दा सडकको मध्यमा पारेर कालोपत्र गरिएको छ। बीच सडकमा रहेका रूखहरू हटाउने वा त्यो असजिलोको व्यवस्थापन नगर्ने हो भने यसले दुर्घटना हुन सक्ने सम्भावना बढी छ। रातिको अँध्यारोमा सवारीसाधनले कालोपत्रे सडकमा उभिएको सालको रूख ठम्याउन नसकेर दुर्घटना हुने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here