धेरैपटक वीरगंज नगरपालिकाले अतिक्रमित जग्गा कब्जा गर्ने कोशिश ग–यो। नसक्नुमा उदासीनता प्रमुख कारण थियो। अब नगरपालिका महानगरपालिका बनिसकेको छ। हिजो नगरपालिकालाई जग्गाको त्यति खाँचो थिएन, वास्ता गरेन। यसले गर्दा भूमाफियाहरूको बिगबिगी बढ्यो। हुनत पञ्चायतकालमा पनि जनताको जग्गा अधिग्रहण गरियो। भूमाफियाहरूले गर्ने पनि अधिग्रहण नै हो, तर गैरकानूनी। पञ्चायतकालमा अधिग्रहण गरिएको जग्गामा आज आदर्शनगर आबाद छ, बाइपास, सेकेन्ड बाइपास बनेको छ र त्यसको छेउछाउ उच्च गुणस्तरको आधुनिक शहरको विकास भएको छ। त्यही क्रममा पोखरिया र श्रीसिया गाउँमा पनि जग्गा अधिग्रहण भयो, जसको हबिगत लाजमर्दो देखिएको छ। दुवै ठाउँमा शहरको विकास हुन सकेन। अब श्रीसिया नगर विकासको जिम्मा महानगरपालिकाको कार्यक्ष्Fेत्रमा आइपुगेको छ। केही होला भन्ने आशा पैंतीस वर्ष पहिले श्रीसियामा प्लट खरीद गर्ने उपभोक्तामा पलाएको हुनुपर्छ। हिजो सरकारको नाममा गरिएको अधिग्रहित जग्गा ढिलै भएपनि जग्गाधनीको आधिकारिकतामा आउँछ। तर वीरगंज नगरलाई नाङ्गेझार पारेर भूमाफियाहरूले गरेको गैरकानूनी अधिग्रहणबाट सोझा नागरिकको उठिवास हुनेबाहेक केही देखिन्न। हो, ती जग्गा महानगरपालिकाले आफ्नो कब्जामा लिन सक्ने हो भने नगरलाई चाहिने कुनै न कुनै संरचना अवश्य बन्ला। चिल्ड्रेन पार्क चाक्लो भएर सबै उमेरका व्यक्तिको पार्क बन्न सक्ला।
वीरगंज महानगरपालिका भएपछि मेयर निर्वाचित भएका विजयकुमार सरावगीले पहिले पनि सार्वजनिक सभाहरूमा नगरपालिकाको जग्गामा भएको अतिक्रमण हटाउने, जग्गा नगरपालिकाको कब्जामा लिने घोषणा गरेका हुन् र अहिले त्यसको कार्यान्वयनमा अघि सरेको झल्को पाइएको छ। वीरगंज महानगरपालिकाका ३२ वटा वडामा गरी यस्ता १०० बिघाभन्दा बढी जग्गा भेटिएको छ, जुन विभिन्न कारणले व्यक्तिहरूले हकभोग गरिरहेका छन्। नगरको मुख्य मुटु रहेको आदर्शनगरमा मात्र रु एक अर्बभन्दा बढी मूल्य पर्ने २१ वटा प्लट व्यक्तिले हकभोग गरिरहेको देखिएको छ। हाम्रो पूर्वीय मान्यतामा भगवान्ले पनि भन्छन् रे–वासको व्यवस्था तिमी गर, आजीविका म पु–याइदिन्छु। जग्गाको महत्व यस मान्यताबाट स्पष्ट हुन्छ। भगवान्ले पनि जग्गा जुटाइदिन सक्दैनन्। त्यो महत्व राख्ने सार्वजनिक जग्गा जसमा सार्वजनिक हितका अनेकौं काम हुन सक्छ, आज व्यक्तिको अभीप्साको शिकार हुन पुगेको छ।
नगर साँघुरिंदै गएको छ। नगरलाई जीवन्त राख्ने साधनहरूको अभाव हुँदै गएको छ। नागरिकमा बिस्तारै व्यक्तिवाद हुर्कन थालेको छ, सार्वजनिक हित गौण हुन पुगेको छ। जब साधन नै छैन भने नागरिकले आफ्नैबारे त सोच्ने नै भयो। घुम्ने, खेल्ने, स्वच्छ सास लिने, जनसम्पर्क गर्ने थलो नै छैन भने नागरिक प्राणी मात्र बन्छ। आज वीरगंज त्यही नियति भोगिरहेको छ। यही अवसर हो, जब वीरगंजवासीले महानगरपालिकाको यस कार्यमा मनसा–वाचा–कर्मणा सहयोग गर्नुपर्छ। किनकि मानिस जतिकै साहसी र कर्तव्यनिष्ठ होस्, अधिकार सम्पन्न होस्, एक्लै धेरैसँग सङ्घर्ष गर्न सक्दैन। आज वीरगंजलाई सम्पन्न मात्र होइन, बहुविध गतिविधिको पनि केन्द्र बनाउनुपरेको छ। खेल, मनोरञ्जन, स्वास्थ्य, बहसको पनि केन्द्र बनाउनुपरेको छ। यहाँ कला, साहित्य, संस्कृतिको विकास चाहिएको छ, जसका लागि जग्गा नै पहिलो प्राथमिकता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here