आजको मानिसलाई सस्तो चीज चाहिन्छ। सस्तो भएपछि त्यो जतिसुकै हानिकारक किन नहोस् मानिसको आकर्षण बढेको पाइन्छ। त्यसै सस्तो वस्तुमध्ये एक हो, प्लास्टिकजन्य पदार्थ, जुन सस्तोबाहेक कति लाभकारी छ, त्यो त रसायनशास्त्रीहरूले बताउलान् तर यसले विश्वलाई अस्तव्यस्त पारिदिएको छ। अब बिस्तारै प्लास्टिकजन्य दुर्गुणबारे समाजले थाहा पाउन थालेको छ र यसको बहिष्कारको कुरा उठ्न थालेको छ। तर सस्तो र ‘उपयोग गर फ्याँक’जस्तो हाम्रो मनोविज्ञानलाई पायक पर्ने हुँदा यसको नयाँनयाँ प्रयोग बढिरहेको छ। अब मानिसको प्रत्येक आवश्यक वस्तु प्लास्टिकबाट बन्न थालेको छ। त्यसैले प्लास्टिकका घोर विरोधी र अतिवादीहरूले अब खाद्य पदार्थ पनि प्लास्टिककै बन्ने अतिशयोक्ति बखान्न थालेका छन्। एक वर्ष पहिले सामाजिक सञ्जालहरूमा प्लास्टिकको चामल, प्लास्टिकको अन्डाबारे अतिरञ्जक सामग्री पोस्ट गर्ने होड नै चलेको थियो। शुरूमा मानिस आत्तिए, पछि आश्वस्त भए। यो विषाक्त र छिटै नष्ट नहुने भएकोले सबैको लागि पिरलोकारक बनेको छ। यद्यपि आजको युगको आवश्यकता प्लास्टिकविना पूरा हुने सम्भावना पनि देखिएको छैन।
प्लास्टिकको दुष्प्रभाव कम गर्नु कठिन पनि छैन। मात्र सरकारले खाद्य पदार्थमा यसको उपयोग नहोस् भन्ने कठोरता पालन ग–यो र उपभोक्ताहरूले यसको व्यवस्थापनमा लापरवाही नगर्ने हो भने यसले कसैलाई हानि पु–याउँदैन। प्लास्टिकको कुनै पनि सामान, जसमा खासगरी तातो पदार्थ राखिन्छ, त्यसको उत्पादनमा रोक लगाउनु सरकारको लागि कठिन काम होइन। सरकारले आफ्नो प्रयोगशालामा वा विश्वले वर्जित गरेको ठाउँमा यसको प्रयोगमा कानून निर्माण गरेर रोक लगाउन गा–हो छैन। उपभोक्ताले पनि आफूले उपयोग गरेको प्लास्टिकका सामग्री जथाभावी फाल्नुको साटो एक ठाउँमा जम्मा गरी जिम्मेदार निकायलाई बुझाउने तत्परता देखाउने हो भने प्लास्टिकले महामारीको रूप लिन सक्नेछैन। अहिले पानीका मुहान, बाली हुने जग्गा, नाली, सडक जताततै प्लFस्टिकका चीजबीच छताछुल्ल देखिन्छ। हाम्रो त मानसिकता नै कस्तो बनिसकेको छ भने कुनै स्थानविशेषमा प्लास्टिकका वस्तु फालिएको देखिन्न भने त्यो ठाउँका मानिस सभ्यताभन्दा टाढा त होइनन् भन्ने लाग्छ। न सरकारले यससम्बन्धी उपयोगी नीति अख्तियार गर्न सकेको छ, न उपभोक्ता नै यति जागरुक हुन सकेको छ कि प्लास्टिकको उपयोगपछि त्यसको कुप्रभावबाट मुक्त रहन त्यसको सही व्यवस्थापन गर्न सकोस्।
राम्रोजति आफूलाई, नराम्रोजति समाजलाई भन्ने हाम्रो नकारात्मक सोच यति बलियोगरी हाम्रो मानसमा बसेको छ कि पानीको बोतल, गुटखाको –यापर सडकमा फाल्नु, पानी निकासको नालामा प्लास्टिकको ब्यागमा घरको कचर भरेर फाल्नुलाई पुरुषार्थकै दर्जा दिन्छौं। प्लास्टिक उत्पादनकर्ताले मापदण्ड अनुसार सामान बनाउँदैन, सरकार बेलाबखत अर्ती उपदेश दिएर आफ्नो दायित्व पूरा भएको ठान्छ, उपभोक्ता त उपभोक्ता भइहाल्यो। उसले सामान उपयोग गर्नुलाई मात्र महत्व दिन्छ। बजारबाट सस्तो सामान खरीद गर्नु उपभोक्ताको विवशता पनि हो, तर त्यसको विसर्जनप्रति भने उदासीन बन्न पुग्छ। प्लास्टिक पानीमा बसेर, जमीनमा थिचिएर प्रदूषणमात्र बढाउँछ। यसको गतिलो विकल्प नआउन्जेल यसको बहिष्कार सम्भव छैन। त्यतिन्जेल यसले गर्नु उपद्रो गरिसक्नेछ।