प्रस, वीरगंज, २२ माघ/
नारायणी अस्पताल, वीरगंजमा पाँच सय शøयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले शुरू गरेको आन्दोलनप्रति नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पर्साले समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।
पाँच वर्ष अघि मन्त्रिपरिषद्को बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै पाँच सय शøयाको पाँच तले भवन निर्माणका लागि बजेट निकासा गरे पनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीचको विवाद अदालतमा पुगेपछि पाँच वर्षदेखि भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
भवन निर्माण विवादसम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा यही माघ २८ गते परेको छ । अदालतले मुद्दाको छिनोफानो गरेर भवन निर्माणको प्रक्रिया छिट्टै शुरू गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरूले माघ १८ गते शुक्रवार अस्पतालअगाडि राजमार्गमा एप्रोन लगाएर केही मिनेट सडकमा धर्ना दिएका थिए ।
उक्त आन्दोलनप्रति आज नेविसङ्घ पर्साले समर्थन जनाएको जिल्ला सभापति रमेश यादवले बताए । नेविसङ्घका नेता कार्यकर्ताहरूले अस्पतालमा पुगेर भवन निर्माण सङ्घर्ष समितिका संयोजक डा नीरज सिंहलाई ऐक्यबद्धतापत्र हस्तान्तरण गरेका थिए ।