प्रस, परवानीपुर, २२ माघ/
पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चार कोठे विद्यालय भवन मर्मतसम्भार नभएर जीर्ण अवस्थामा थियो । निर्माण कार्य आधा अधूरा रहेको सो चार कोठे भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टर पनि भएको थिएन । अधूरो भवनमा अध्यापन कार्य हुँदै आएको प्रधानाध्यापक गगनदेवप्रसाद यादवले बताए ।
पछिल्लो समयमा विद्यालयमा थप पाँचवटा ब्लक निर्माण भएपछि मावि तहसम्मको अध्यापन सोही ब्लकमा हुने गरेको र पुरानो भवन खाली रहेको उनले बताए । सोही भवन आज बिहान भत्किएको प्रअ यादवले बताए । निर्माण कार्य हुँदै गर्दाको समयमा कमसल खाले निर्माण सामग्री प्रयोग भएको र विद्यालय भवन पूर्णरूपमा तयार नगरिएको कारण भत्किएको स्थानीयहरू बताउँछन् ।
सो विद्यालयमा साढे ११ सयजना विद्यार्थी अध्ययनरत छन् । हिजो वसन्तपञ्चमी (सरस्वतीपूजा) गरिएको र आज मङ्गलवार भएकोले मूर्ति सेलाउने काम नभई बुधवारका लागि सारिएकोले विद्यार्थीहरू थिएनन् र कुनै मानवीय क्षति नपुगेको प्रअ यादवले बताए ।