प्रस, वीरगंज, २१ माघ/
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल्सको छैटौं संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघु चलचित्र पाउलोको प्रदर्शनसँगै शुरू भएको तीन दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूलाई अवार्ड वितरणसँगै समापन भएको छ ।
राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनाको बुलाकी र अन्तर्राष्ट्रियतर्फ भारतको चलचित्र पुभुले सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गरेको छ । राष्ट्रियतर्फ प्रतिस्पर्धामा सहभागी चलचित्रहरू बुलाकी, पुजार सार्की, डेसान, पखेटा र विच्छेदमध्ये पुजार सार्की फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका थिए । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउत, उत्कृष्ट छायाकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकाल, इन्करेजमेन्ट अवार्ड बुलाकीबाट अभिनेता नरेन खड्काले र उत्कृष्ट स्क्रिप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हासिल गरे ।
यस्तै, राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, वृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कूल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु नीलाबाट योवन शाक्यले, जुरी मेन्सन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेन्सन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरीता शाहले र एभोन्टोज पपुलर अवार्ड चलचित्र लेट नाइटबाट ओविन उद्दिनले प्राप्त गरे ।
राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा वरिष्ट सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्रकुमार खनाल, चलचित्र निर्माता एवं निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टेलिभिजनकर्मी टीकाराम यात्री थिए ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज सङ्गीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बाँस्कोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरू वसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहलगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए । चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्र अन्तिम प्रतिस्पर्धामा थिए ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चलचित्र पुभुबाट उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचिरुवाले हासिल गरिन् । उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गरे । अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बङ्गलादेशको सर्ट फिल्म सौदा, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गरे ।
अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्रयुले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हासिल गरे ।
यस्तै, एनिमेशन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ द पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायाकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुइस अल्कानीले, उत्कृष्ट चलचित्र स्किप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशल मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गार्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । यस्तै, पपुलर अवार्ड जर्मनीको चलचित्र सिड विथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाइन्ट पपेट्स फर डिज्निफाइड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गरे ।