प्रस, वीरगंज, १९ माघ/
पर्सा जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालनको तयारीस्वरूप जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाबीच अभिमुखीकरण तथा गोष्ठी कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा भएको हो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खोप अभियानलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले कोभिड–१९ खोप अभियानका बेला देखिएका समस्याहरू दोहोरिन नदिन सतर्क रहनुपर्ने बताए । एचपिभी खोप महँगो भएकोले कोही बालिका खोपबाट वञ्चित नहोऊन् भन्नेतर्फ स्वास्थ्य कार्यालय चनाखो रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुरेन्द्र चौधरीले पाठेघरको मुखको क्यान्सरबारे जानकारी दिंदै नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सर यही रहेको बताए । उनले एचपिभी मुख्यतया यौन सम्पर्कबाट सर्ने भएकोले यसविरुद्धको यो खोप निकै प्रभावकारी रहेको बताए । नेपाल सरकारले १० देखि १४ वर्ष उमेर समूहका सम्पूर्ण बालिकालाई खोप प्रदान गरिरहेकोले सबै वर्ग लाभान्वित हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले एचपिभी यौन सम्पर्कमार्पmत सजिलै सर्ने भएकोले पति–पत्नीबीच पनि सावधानी अपनाउनुपर्ने सुझाव दिए । उनले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप एकमात्र प्रभावकारी उपाय भएको बताए ।
स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले एचपिभी खोप हालसम्म १४५ देशमा सफलरूपमा प्रयोग भइरहेको छ र पूर्णरूपमा सुरक्षित रहेको बताए । उनले यस वर्ष नेपालमा कक्षा ७ देखि १० सम्मका छात्राहरूलाई खोप दिए पनि आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्मका बालिकाहरूलाई खोप दिइने बताए । केही निजी विद्यालयहरूले विद्यालयबाहिरका बालिकाहरूलाई खोप लगाउन नदिएको गुनासो आएको भन्दै सम्बन्धित विद्यालयहरूलाई कानूनी कारबाईको दायरामा ल्याइने उनले बताए ।
पर्सा जिल्लाका सबै पालिकामा माघ २१ गतेसम्म खोप पु¥याइने र माघ २२ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ ।
स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान दुर्ई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण अन्तर्गत माघ २२ देखि २८ गतेसम्म वीरगंज महानगरपालिकाका वडा नं १ देखि १६ सम्म, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी र पोखरिया नगरपालिकामा सञ्चालन हुनेछ ।
त्यसैगरी, दोस्रो चरण अन्तर्गत माघ ३० देखि फागुन ६ गतेसम्म पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी गाउँपालिका तथा वीरगंज महानगरपालिकाका वडा नं १७ देखि ३२ सम्ममा सञ्चालन हुनेछ ।
छुटेका पालिकाहरू तथा महानगरका वडाहरूमा माघ २८ गते खोप लगाइनेछ । खोप आपूर्तिलाई सहज बनाउन कोल्ड चेन व्यवस्थापन गरिएको छ ।
खोप अभियानका लागि पर्सा जिल्लाका १४ वटै पालिकाका स्वास्थ्य प्रमुखहरू तयारी अवस्थामा छन् । खोप कार्यक्रम सफल बनाउन ३४५ जना खोप कार्यकर्ता तथा ६९० जना स्वयंसेवक परिचालिन गरिनेछ । नारायणी अस्पतालका चिकित्सकहरूसमेत तयारी अवस्थामा छन् । हालसम्म जिल्लामा बालिकाहरूको तथ्याङ्क सङ्कलन भइसकेको तथा सोही अनुसार खोप उपलब्ध रहेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
नेपाल सरकारले एचपिभी खोप अभियानको प्रचारप्रसारका लागि चर्चित व्यक्तित्वहरूलाई खोपदूतका रूपमा चयन गरेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा हरेक दिन औसतमा चारजना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने भएकाले समयमैं खोप लगाउनु र नियमित परीक्षण गराउनु अत्यावश्यक रहेको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो ।