प्रस, वीरगंज, १८ माघ/
नारायणी अस्पतालको पुनर्निर्माण हुनुपर्ने माग गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीले शुक्रवार सडकमा धर्ना दिएका छन् ।
नारायणी अस्पतालको भौतिक संरचना जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा चिकित्सकहरूले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् ।
डा सिंहले नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक त्रिभुवन राजपथ अवरुद्ध गरी सरकारको ध्यानाकर्षण गराएको बताए ।
डा सिंहले देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको तर वीरगंजको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित रहेको बताए । उनले भवनको अवस्था यति जीर्ण छ कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ ठेगान नरहेको बताए । तर पनि सरकारले अझैसम्म ध्यान नदिएको उनले बताए । डा सिंहले माग पूरा नभए सम्पूर्ण चिकित्सकले अझ कडा आन्दोलन गर्ने बताए ।
डा सिंहले नारायणी अस्पताल ५०० शøयाको अस्पताल भए तापनि पुरानो र जीर्ण अस्पतालको भवनमा चाहेर पनि बढीभन्दा बढी बिरामीहरूलाई उपचार सेवा दिन नसक्ने अवस्था रहेकोले यस्तो संवेदनशील विषयमा न्यायालयले पनि चाँडै फैसला दिनुपर्र्ने माग गरे । उनले न्यायालयले जनसरोकारका विषयमा संवेदनशील भई चाँडो फैसला दिनुपर्ने आग्रह गरे । उनले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पताल भवन निर्माणको लागि न्यायालय ठेकेदारहरूको बीचमा अल्झिनु कानूनी राज्यको बर्खिलाफ रहेको जिकिर गरे । विद्यमान भवन संहिता अनुसार देशभरिका सम्पूर्ण स्वास्थ्य संस्था भूकम्प प्रतिरोधात्मक तथा न्यून क्षति हुने किसिमको हुनुपर्नेमा सोको विपरीत जीर्ण नारायणी अस्पतालमा स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवा दिन बाध्य रहेको उनले बताए ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष एवं नारायणी अस्पताल भवन निर्माण संयोजन समितिका संयोजकसमेत रहेका डा सिंहले आव २०७४/७५ मा भवन निर्माणको ठेक्कामा एउटा मुद्दा सर्वोच्च अदालतमा सुनवाइ भइरहेको र मुद्दाको सुनवाइ लम्बिंदै गएपछि आफूहरूले दबाबमूलक कार्यक्रम आयोजना गर्नुपरेको बताए ।
उनले शहरी तथा भवन विकास विभाग एवं ठेक्का प्रक्रियामा सहभागी तीनजना ठेकेदारको बीचमा मुद्दा पेंचिलो हुँदा जीर्ण अस्पताल भवनबाट प्रभावकारी स्वास्थ्य सेवा दिन नसकिएको बताए ।