दिनेश मिश्र, वीरगंज, १८ माघ/
पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा यही माघ २२ देखि २८ गतेसम्म पालिकाका १० वटा वडामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करीब अढाई हजारबालिकालाई खोप लगाइने पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले जानकारी गराए ।
उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिकालाई एचपिभी खोप लगाइने बताए । माघ २२ देखि सञ्चालन हुने खोप अभियानलाई सफल बनाउन सम्पूर्ण प्रयास गरिने पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिव सिंह पटेलले बताए । अभियानको क्रममा कुनै आग्रह, पूर्वाग्रह नराखी स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाउने उनले बताए ।
अभियानमा खट्ने स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी, सञ्चारकर्मी, सङ्घसंस्थालगायतलाई कार्यक्रममा आग्रह गरिएको थियो । खोपको कुनै पनि नकारात्मक प्रभाव नभएकोले ढुक्क भएर खोप लगाउन नगरवासीसँग आग्रहसमेत गरिएको थियो ।
कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरले खोप अभियानमा सहयोग गरी सफल बनाउन आग्रह गरिन् । पोखरिया नगरभित्र रहेका सम्पूर्ण बालिकालाई निगरानी गरी खोप दिनुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह कानू, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, परमानन्द पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामवचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, नगरप्रहरी प्रमुख दिनेश चौहान, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी लगायत सरोकारवालाहरूको सहभागिता थियो ।