प्रस, वीरगंज, १८ माघ/
नेपाल विद्यार्थी सङ्घ ठाकुर राम बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै शुक्रवार स्ववियु निर्वाचन र विद्यार्थीका अपेक्षा विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ ।
नेविसङ्घ, पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाराब क्याम्पसमा विगत १५ वर्षदेखि निर्वाचन हुन नसकेको अवस्थामा यसपटक देशभरिका त्रिविका आङ्गिक क्याम्पसहरूमा चैत ५ गते निर्वाचनको घोषणा भइसकेको बताउँदै उनले निर्वाचनलाई लक्षित गर्दै नेविसङ्घका नेताहरूले चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेविसङ्घ, पर्साका अध्यक्ष रमेश यादवले निर्वाचनमा नेविसङ्घलाई विजय गराउनुपर्ने बताउँदै विद्यार्थीहरूभित्रबाटै असल नेता निर्वाचित गर्न आग्रह गरे ।
नेपाली काङ्ग्रेस महानगर सभापति मणिन्द्र नेपालीले निर्वाचनलाई सफल गराउन विद्यार्थीका अपेक्षा र मागहरू सम्बोधन हुनुपर्ने बताए ।
कार्यक्रममा नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा पुस्तक सहज र अत्यधिक मात्रामा उपलब्ध हुनुपर्ने, महिला–पुरुष शौचालय व्यवस्थित हुनुपर्ने, शैक्षिक वातावरण सहज हुनुपर्नेलगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेकाका रामनिवास यादव, तरुण दलका रोशन सिंह, नेविसङ्घका सुरेन्द्र लामिछाने, बाबुनन्द कुर्मी, पुरुषोत्तम कुर्मीलगायतले मन्तव्य राखेका थिए ।
नेविसङ्घका नेता विकाश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिबिएस, बिएड, बिआइटी, बिबिएस र बिएससीका विद्यार्थीहरूको सहभागिता थियो ।