प्रस, वीरगंज, १८ माघ/
पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा रहेको कम्प्युटर विज्ञानको नयाँ पाठ्यपुस्तक तयार गरेको छ । यस अन्तर्गत कक्षा ९ को पाठ्यपुस्तकमा कम्प्युटर सिस्टम, ब्लक प्रोग्रामिङ, वेब टेक्नोलजी, इन्टरनेट, सामाजिक सञ्जाल, साइबर सुरक्षा, पाइथनलगायतका विषयवस्तु समेटिएका छन् ।

त्यस्तै, कक्षा १० को कम्प्युटर विज्ञानमा कम्प्युटर नेटवर्क, डेटाबेस म्यानेजमेन्ट सिस्टम, मल्टिमीडिया, प्रोग्रामिङ इन पाइथन, एआई तथा कन्टेम्प्रोरी टेक्नोलजी जस्ता विषयवस्तु समावेश भएका छन् ।

आगामी शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र २०८३ देखि कक्षा १० मा नयाँ पाठ्यपुस्तक लागू गरिनेछ ।

यस अन्तर्गत कक्षा ९ को पुस्तकको छपाइको काम चलिरहेको पाठ्यक्रम निर्माणका सदस्य तथा पुस्तकका लेखक सुनीलकुमार घर्तीले जानकारी दिए । कक्षा ९ को पाठ्यपुस्तकलाई सुनीलकुमार घर्तीसहित विमल थापा, प्रतीकमान सिंह प्रधान, विजय अधिकारी, श्याम अधिकारी र लवदेव भट्टले तयार पारेका हुन् ।

बदलिंदो समय अनुसार विद्यमान पाठ्यपुस्तकले विद्यार्थीलाई धेरै कुरा सिकाउन नसकेकोले नयाँ पाठ्यपुस्तक तयार गरिएको घर्तीको भनाइ रहेको छ । उनका अनुसार ऐच्छिक विषयका रूपमा कम्प्युटर विषय पहिलोपटक पूर्णरूपमा परिवर्तन गरिएको हो ।

परिवर्तित पाठ्यपुस्तकले कक्षा ११ र १२ मा समेत अध्ययनको लागि पुलको काम गर्ने बताइएको छ । विद्यालयस्तरबाट नै कम्प्युटरसँग सम्बन्धित विषयहरू सिकाएर विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्नुपर्छ भनेर नयाँ पाठ्यपुस्तक ल्याइएको हो । कम्प्युटर क्षेत्रमा राम्रो गर्नुछ भने कक्षा ५ देखि नै पाठ्यपुस्तक परिवर्तन गर्नुपर्नेमा घर्तीले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here