• सञ्जय साह मित्र

‘पुसके दिन फुसफास, माघके दिन बाघ’ पहिले यसरी भनिन्थ्यो । पुस र माघको जाडोलाई अत्यन्त कष्टकर मान्ने गरिएको लोकजीवनमा यी दुवै महीनालाई खासै महŒव दिइएको पाइएको छैन यस कथनमा । पुसमा ठिहि¥याउने जाडो हुने र अत्यन्त कष्टकर जीवन हुने समयलाई किन महŒव नदिइएको होला ? यस प्रश्नको उत्तर खोज्दै जाँदा लोकजीवनमा गज्जबको आशावादी दृष्टिकोण रहेको पाइन्छ ।

कष्टलाई जति धेरै कष्ट मानिन्छ, उत्ति धेरै मनोवैज्ञानिक कष्ट हुन्छ । कष्टको दिनलाई पनि कम ठान्ने एउटा तरीका यो पनि हो कि यो दिन पनि छिट्टै बित्छ र राम्रो दिन आउँछ । वर्तमानप्रति विरक्त हुनुभन्दा भविष्यप्रति आशावादी हुनु राम्रो । यसले सकारात्मक ऊर्जा दिन्छ र सकारात्मक चिन्तन पनि प्रदान गर्दछ । यही आशावादिता तथा सकारात्मक चिन्तनशीलता यस भनाइमा पाइन्छ ।

भनाइको तात्पर्य हो – पुसको दिन छिट्टै बितिहाल्छ । माघको दिन ठूलो हुन्छ । अर्थात् सबैभन्दा सानो दिन मानिने पुसमा अत्यधिक जाडो हुन्छ तर यो हेर्दाहेर्दै बित्छ । अनि माघको दिन बाघ हुन्छ अर्थात् माघदेखि तगडा दिन अर्थात् ऊर्जावान् दिन अर्थात् जाडो कम हुने दिनको शुरूआत हुन्छ । माघको पहिलो दिनदेखि नै लोकजीवनमा विश्वास छ कि ‘तिल बराबर’ दिन बढ्न शुरु हुन्छ । सूर्य उत्तरायण हुन्छ । सूर्यको तेजमा वृद्धि हुन्छ । पुसको घाममा नरमपना बढी हुन्छ भने माघको घाममा कडापन वा गरमपना बढ्दै जान्छ ।

‘पुस में जाढ जमान भेल माघ में ठाने लडाइ’ लोकोक्तिमा अहिले पनि सर्वसाधारणलाई विश्वास रहेको छ । पुससम्म जाडो बढ्दै जान्छ र माघमा जाडोको उत्कर्ष हुन्छ । माघ महीनाको जाडोलाई कुनै पनि किसिमले कम मान्नु हुँदैन भन्ने मान्यता यसमा रहेको छ । पुसको दिन फुसफास भए पनि माघको जाडोले भने निकै सताउँछ । माघको जाडोले बिरामी पनि पार्छ । जब दिउँसो घाम लाग्न शुरू हुन्छ र घाम लागेपछि सर्वसाधारणमा यो अनुभूति हुन थाल्छ कि अब जाडो गइसक्यो तब मानिस लापरवाह बन्दछ । बिहान र बेलुकीको जाडो निकै खतरनाक हुन्छ । लापरवाही गर्नुहुँदैन । लापरवाही गर्दा बिरामी पर्ने डर हुन्छ भन्ने सचेतना यस लोक कथनमा पाइन्छ । लोकजीवनमा माघदेखि बिस्तारै गर्मीको मात्रा बढ्दै जान्छ, मान्यता हो तर गर्मी आइसकेको छैन, यसैले जाडोबाट जोगिने उच्च सतर्कताले सचेत रहनुपर्छ भन्ने लोकोक्ति विद्यमान छ ।

हुनत महीना जनाउने परम्परागत केही आधारहरू भने बिस्तारै भत्किइरहेका छन् तर अझै पनि अवशेष पूर्णतः कमजोर भइसकेका छैनन् । पहिले माघ लाग्नासाथ गाउँघरमा लाचारी सुन्न पाइन्थ्यो । ‘लाचारी’ भनेको त्यस्तो लोकगीत हो जसमा भगवान् शिवको भजन गाइन्छ । अलिकति कथात्मकता पनि हुन्छ, अन्यथा कथाको कुनै अंशमाथि प्रकाश पार्ने गीत हुन्छ । अहिले पनि कहींकतै यो गुञ्जायमान छ तर वृद्धहरूको स्वरमा मात्र । नयाँ उमेरका मानिसले यसमा आकर्षण देखेको पाइएको छैन । नयाँ उमेरका मानिसहरूमा ‘लाचारी’जस्ता लोकगीतप्रति उदासीनता हुनु संस्कृतिको एउटा अङ्ग कमजोर हुँदै गइरहेको मान्नु हो । संस्कृतिप्रति सचेत हुुनुपर्ने मुख्यतः युवा नै हो तर युवाहरूको देखावटी संस्कृतिप्रति आकर्षण छ र मौलिक संस्कृतिप्रति भित्री हृदयदेखि चाहना वा जिज्ञासा देखिएको पाइँदैन । यसैले नवयुवाहरूमा तुलनात्मकरूपमा केही बढी विकृति देखिन्छ । यदि संस्कृतिलाई मान्ने हो भने अहिलेका धेरै विकृति स्वतः कम भएर जान्छ तर विकृतिलाई विकृति देख्ने वर्गकै अभाव हुन थालेको छ समाजमा ।

‘पुससे उबरी तब माघ खाए खरही’ भन्ने लोककथन बाख्रातिर केन्द्रित छ । पहिले पुसमा बाख्रालाई पखाला लाग्दथ्यो । पुसमा बाख्रा जोगियो भने माघदेखि रोग लाग्दैन भन्ने तात्पर्य रहेको छ । ‘माघके बच्चा बाघ’ भन्ने लोकोक्ति अहिले पनि निकै चर्चित छ । माघ महीनामा जन्मेको बच्चो बलियो हुन्छ भन्ने लोकविश्वास अहिले पनि रहेको छ । मानिस वा पशु जसका पनि सन्तानको हकमा यो भनाइ लागू हुन्छ । माघमा जन्मेको बच्चो तुलनात्मकरूपमा स्वस्थ हुने लोकविश्वास रहेको छ । अहिले पनि अलिकति मोटोघाटो बच्चा देख्नासाथ गाउँका मानिसहरू माघ महीनामा जन्मेको हो भनी लख काटछन् ।

‘माघके राग आ माघेके साग’ माघ महीनामा गीतको आनन्द आउँछ अर्थात् माघको श्रीपञ्चमीपछि होलीको गीत गुञ्जिन थाल्दछ, शिवको लाचारी पनि सुनिन्छ र माघ महीनामा केही लगन पनि हुन्छ जसले गर्दा बिहेको गीत पनि सुन्न पाइन्छ । यी लोकगीतहरूको पुस महीनामा भने अभाव हुन्छ । यसैले माघको राग भनिएको होला र माघको साग पनि मीठो हुन्छ । भर्खर गहुँको खेतमा पलाएको बेथेको सागले किसानहरूलाई तान्छ । अनि अन्य सागको पनि बाहुल्य हुन्छ । सागको सधुक्कडी भाषामा अर्थ तरकारी पनि हुन्छ । अन्य महीनाभन्दा तरकारीको भाउ सस्तो हुन्छ । अर्थात्, पर्याप्त तरकारी खान पाइने महीनाको रूपमा पनि चित्रण गरिएको हुनुपर्छ । स्वाद, सन्तुष्टि र पर्याप्तताको सङ्केत हुनुपर्छ । मनभित्र हुने सन्तुष्टिको प्रस्फुटन राग र स्वादको अभिव्यक्ति पनि हुनुपर्छ ।

अर्को पनि निकै आशावादी कथन लोकजीवनमा प्रचलित छ –‘गेल माघ उन्तीस बाँकी’ । माघको पहिलो दिन जब तिलासक्रान्त मनाइन्छ तब यो कथन ग्रामीण क्षेत्रमा सर्वत्र सुन्न पाइन्छ । अझ यस दिन चाडपर्व भएकोले बिहान नुहाउने बेलामा मनोवैज्ञानिकरूपमा आपूmलाई आश्वस्त पार्न तथा अरूलाई पनि सान्त्वना दिन –अब यो महीना जानै लाग्यो र गर्मी आउनै लाग्यो भन्ने कुरा अभिव्यक्त हुन्छ । दिन वा समय बित्न धेरै लाग्दैन । र, पुसको जस्तो जाडोको अनुभूति माघ महीनामा हुँदा पनि हुँदैन । माघलाई निम्त्याउन पनि नुहाउनु जरुरी छ । माघ महीनामा हुने जाडोभित्रको उष्णताको अनुभूति गर्नुपर्छ भन्ने भाव यस कथनमा पाइन्छ । माघ महीनासम्म निकै कडा जाडो हुने भए पनि माघको अन्तिमतिर पुसको तुलनामा दिनको अवधि विस्तार भइसकेको हुन्छ र जब माघ महीनामा घाम लाग्दछ तब पोल्ने गरी लाग्छ । त्यसैले पनि अब जाडोको दिन छोटियो भन्ने अभिव्यक्ति यसमा पाइन्छ ।

जसरी कविहरूमा सबैभन्दा बढी वसन्त ऋतु प्रिय मानिन्छ, माघ महीनालाई पनि प्रिय महीनाको रूपमा त्यसरी नै मान्यता प्राप्त छ । पुसमा जनजीवन एक किसिमले ठप्प भएको हुन्छ । माघमा भने जनजीवनमा व्यस्तता आउन थाल्छ । लोकजीवन वा ग्राम्य जीवनमा पुस महीनालाई खाली महीनाको रूपमा मान्नुका पछाडि विभिन्न कारण छन् । यस महीनामा खासै काम हुँदैन र मानिसको हातमा नगद पनि हुँदैन । यसैले पुस महीनालाई गरीब महीना पनि भनिन्छ र यसविपरीत माघ महीनालाई धनी महीना मानिएको छ । कामको चाप हुन्छ । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले चहलपहल बढ्छ । बिहेबारीको सुरुआत हुन्छ । एकअर्काकहाँ आउनेजाने क्रम शुरू हुन्छ । मानिसहरूको निधारमा अबिरको टीका लगाएको देख्न सकिन्छ । जनजीवनमा उत्साह आउन थालेको हुन्छ । वास्तवमा पुसको तुलनामा माघ महीनाको जनजीवन निकै चलायमान हुन्छ ।

अझ माघ महीनाको दुईतिहाई बित्न लाग्दा फागुनको सङ्केत हुन्छ । श्रीपञ्चमीको दिन डम्फू बजाउने चलन छ । फागुनको गीत फगुआ गाउने दिनको आरम्भ हुन्छ । माघ महीनामैं फागुनको आरम्भ हुन्छ । तिथिले माघको शुक्ल पूर्णिमा आउन १० दिन बाँकी नै रहँदा पनि फगुआ गीतको सुरुआत औपचारिक रूपमा गरिन्छ । यसले गर्दा पनि माघ महीनाको महŒवलाई बढाएको वा माघ महीनाको लयात्मकता, रसमयता वा आनन्द र मनोरञ्जनात्मकता बढाएको पाइन्छ ।

श्रीपञ्चमीको दिनलाई लोकजीवनमा रहेको मान्यता अनुसार कुनै पनि शुभ कार्य गर्न वा गराउन वा सुरुआत गराउनको लागि तिथि देखाउनुपर्दैन अर्थात् सबैभन्दा शुभ साइतको स्वाभाविक तिथि यसलाई मानिन्छ । अत्यधिक जाडो भएपनि यी र यस्ता अनेक कथ्य तथा मिथकले गर्दा माघ महीनालाई निकै आशावादी महीनाको रूपमा लोकजीवनले स्वीकार गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here