नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन एचपिभी खोप अभियानलाई राष्ट्रियस्तरमा सञ्चालन गर्ने घोषणा गरेको छ । अभिनेत्री मनीषा कोइरालालाई सद्भावनादूत नियुक्त गर्दै यो अभियानलाई व्यापक प्रचारप्रसार गर्ने प्रयास गरिएको छ । अभिनेत्री कोइरालाले क्यान्सर रोगलाई जितेर पुनर्जीवन पाएकी उदाहरणीय व्यक्तित्व हुन् । नेपालमा महिलाहरूमा देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्या हो । सरकारी तथ्याङ्क अनुसार सन् २०२२ मा दुई हजार १६९ महिलामा यो क्यान्सर पुष्टि भएको थियो । जसमा एक हजार ३१३ जनाको मृत्यु भएको रेकर्ड छ । यसले दैनिक औसतमा छजना महिलामा यो क्यान्सर पुष्टि हुने र सोमध्ये चारजनाको मृत्यु हुने गरेको देखिन्छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो । यसबाट बच्नका लागि नौदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपिभी खोप लगाउन सिफारिश गरिएको छ । समयमैं स्क्रिनिङ र खोपको माध्यमबाट यो क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ । एचपिभी खोप विज्ञानद्वारा प्रमाणित प्रभावकारी उपाय हो, जसले ह्युमन पापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमण रोक्न मदत गर्छ । ह्युमन पापिलोमा भाइरस (एचपिभी) सङ्क्रमण नै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो । एचपिभी खोपले शरीरमा प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँदै सङ्क्रमणको जोखिमलाई कम गर्छ । किशोरावस्थामैं खोप लगाइएमा यसको प्रभावकारिता उच्च हुने कुरा अनुसन्धानहरूले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पनि एचपिभी खोपलाई गुणस्तरीय र प्रभावकारी भएको प्रमाणित गरिसकेको छ । नेपाल सरकारले सन् २०१६ देखि सीमित विद्यालय तथा क्षेत्रमा परीक्षणात्मकरूपमा एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको थियो । यसले अपेक्षित सफलता हासिल गर्न सक्यो । यसपटक भने यही माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापीरूपमा अभियान चलाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकभरका विद्यालयभित्र वा बाहिरका १६ लाख ८८ हजार किशोरीलाई खोप दिइनेछ । सरकारले यस अभियानलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको जनाएको छ । एचपिभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूका लागि मात्रै किन, अरू उमेर समूहका महिलाचाहिं पाठेघरको मुखमा हुने क्यान्सरको जोखममा छैनन् र ? भन्ने प्रश्नहरू पनि उठेका छन् । वास्तविकता के हो भने १० देखि १४ वर्ष उमेर समूहका लागि नै यो खोप बढी प्रभावकारी प्रमाणित भएको छ । किनभने यो उमेरसम्म अधिकांश किशोरीमा एचपिभी सङ्क्रमण हुने सम्भावना न्यून रहन्छ । यस खोपले भविष्यमा हुने सङ्क्रमणको जोखिम कम गर्ने हो । भाइरस प्रवेश भइसकेपछि भने प्रभावकारी मानिंदैन । त्यसैले किशोरावस्थालाई प्राथमिकता दिइएको हो ।

खोप अभियानमा सरकार, सञ्चार, नागरिक समाज तथा सामाजिक सङ्घ/संस्थाहरूको भूमिका महŒवपूर्ण छ । सरकारले आठ हजारभन्दा बढी खोप केन्द्रमा खोप सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीहरू, शिक्षकहरू, अभिभावकहरू र सामाजिक सङ्घसंस्थाहरूले यस अभियानमा महŒवपूर्ण भूमिका खेल्न सक्नुपर्छ । सामाजिक सङ्घसंस्थाहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै खोपको महŒवबारे सर्वसाधारणलाई बुझाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here