प्रस, जीतपुर, १७ माघ/
आन्तरिक राजस्व कार्यालय, सिमराले छ महीनामा सात अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आवको छ महीनामा लक्ष्यभन्दा कम रु सात अर्ब ४४ करोड २७ लाख ३२ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत दिनेश पाण्डेले बताएका छन् ।
चालू आवको साउन–पुस छ महीनामा रु आठ अर्ब ९२ करोड १३ लाख ६२ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८३.४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी वसन्त नेपालले बताए ।
मुलुकमैं सबैभन्दा बढी राजस्व तिर्ने सिमरास्थित सूर्य नेपाल प्रालिको चुरोट उत्पादन तथा बिक्रीमा कमी आएपछि राजस्व सङ्कलनमा असर परेको सूचना अधिकारी नेपालले बताए ।
चालू आवको छ महीनामा आयकर ६३.२२ प्रतिशत, बहाल आयकर ३०.२० प्रतिशत, ब्याज आयकर ११४.७९ प्रतिशत, मूअकर १०५.९२ प्रतिशत, अन्तःशुल्क ९०.२७ प्रतिशत, स्वास्थ्य सेवा ६५.७३ प्रतिशत सङ्कलन गरिएको आन्तरिक राजस्व कार्यालय, सिमराले जनाएको छ ।