जीतलाल श्रेष्ठ, निजगढ, १६ माघ/
निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापासहित नौजनामाथि वन फँडानी, वन अतिक्रमण गरेको कसूर ठहर भएको छ ।

बारा जिल्ला अदालतका १ नं न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ १४ गते सोमवार सो फैसला गरेको बारा जिल्ला अदालत स्रोतले जनाएको छ ।

अध्यक्ष सिद्धबहादुर थापा, झलबहादुर राई, नरबहादुर क्षत्री, मनकुमार थापा, श्यामबहादुर घिसिङ, पद्मबहादुर भुजेल, सुशील थापा, जगतबहादुर दर्लामी, गङ्गामाया राउतमाथि बारा जिल्ला अदालतले कसूर ठहर गरेको जनाएको छ । डिभिजन वन कार्यालय, बाराले वन समूहका अध्यक्ष थापा सोही प्रकरणमा अनुसन्धानको क्रममा डिवका, बाराले ५२ जनाविरुद्ध मिसिल तयार गरी सरकारी वकीलको कार्यालयमा पेश गरे पनि सरकारी वकीलको कार्यालयले ३५ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

डिभिजन वन कार्यालय, बाराले वन समूहका अध्यक्ष थापालाई गत २०८० पुस २८ गते शनिवार दिउँसो पक्राउ गरी मुद्दा चलाएपछि चार लाख धरौटी राखी तारिखमा छुटेका थिए । सोही प्रकरणमा निजगढ वडा नं २ का पूर्वअध्यक्ष केशव ढोडारी, राधाकृष्ण पुडासैनी, नेत्रबहादुर पाख्रिनलगायत १६ जनालाई सफाइ दिएको अदालत स्रोतले जनाएको छ ।

सोही प्रकरणमा बुधकुमारी तिमल्सिना, चेतबहादुर थापा, दिनेश केसी, सीताराम लम्साल, बोलकबहादुर फुलाल, राजुु घिसिङ, मोहन राई, डम्बरबहादुर थापा अदालतमा उपस्थित नहुँदा उनीहरूको मुद्दा मुल्तवीमा रहेको जनाएको छ ।

सो सामुदायिक वन उपभोक्ता समूहले २० हेक्टरभन्दा बढी वन क्षेत्र आबाद गर्दै आएको उजूरी अख्तियार दुरुपयोग अनुुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा परेको थियो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका फँडानी गरिएको सो वन क्षेत्रमा स्थानीय समाजसेवी र सचेत गाउँलेहरूले मानवबस्ती बस्न रोक लगाए पनि हाल ११ घरवटा रहेको वन कार्यालयले जनाएको छ ।

अतिक्रमण गरिएका वन क्षेत्रमा सार्वजनिक, सामुदायिक विद्यालय, मठमन्दिर, गुम्बा, सङ्घसंस्था सञ्चालनका लागि जमीन भागबन्डा गरी वन क्षेत्रको जमीनमा खेतीपाती गर्न ठेक्कासमेत लगाउँदै आइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here