• सञ्जय साह मित्र

अहिले केही वर्षदेखि शहीद सप्ताह मनाउने चलन चलेको छ । शहीदहरूको सम्मानमा यो निकै राम्रो चलन हो । शहीदको सम्मान हरेक मानिसले गर्नुपर्छ । शहीदले दिएको आदर्शमा पनि हिंड्ने प्रयास गर्नुपर्छ । हुनत आदर्शवादी हरेक मानिस हुन सक्दैन । हरेक मानिसमा एकै किसिमको प्रतिभा हुँदैन । एकै किसिमले मानिसहरूले सोच्न सक्दैनन् । मानिसहरूमा सोचविचार गर्ने तथा आप्mनो जीवन–दृष्टि बनाउने स्वतन्त्रता हुन्छ । सम्भवतः यसै कारणले पनि मानिस कुनै उद्योगको उत्पादनजस्तो एकनासको हुन सक्दैन र हरेक मानिस आफैंमा विशिष्ट हुन्छ भनिन्छ । मानिसमा हुने चिन्तनगत भेद तथा व्यवहारमा हुने परिवर्तनले नै उसलाई अरूका माझ फरक भनेर चिनाएको हुन्छ ।

हरेक मानिसको सपना हुन्छ । अझ सपनाहरू हुन्छन् । मानिसहरूले आप्mनो सपना पूरा गर्न दौडिरहनुपरेको हुन्छ । मानिसले सङ्घर्ष गर्नैपर्छ । अनि राष्ट्रवादी वा देशभक्त नागरिकको नजरमा देशको पनि सपना हुन्छ । जसरी हरेक मानिसको दैनिकी हुन्छ त्यसरी नै देशको पनि दैनिकी हुन्छ भन्ने मान्यता यस्ता मानिसहरू राख्दछन् । मानिसले आप्mनो पीडा वा समस्याबारे जानकार भई समाधानको लागि प्रयास गरेको हुन्छ, त्यसैगरी देशका पनि समस्याहरू हुन्छन् र देशको समस्या समाधानका लागि कोही न कोही अगाडि बढ्दैपर्दछ । देशका लागि कसै न कसैले सङ्घर्ष गर्नैपर्ने हुन्छ । हरेक समयमा देशका लागि सोचविचार गर्नेहरूलाई समस्याहरू आएकै देख्दछौं । अझ यदि कोही देशमा रहेको शासन व्यवस्थाको विरोधमा जान्छ भने उसलाई तत्कालीन शासन व्यवस्थाले नै राम्रो मान्दैन ।

कुनै पनि देशमा सधैं एकै किसिमको व्यवस्था रहँदैन । विगत सय वर्षको इतिहास हेर्ने हो भने विश्वका धेरै देशमा व्यवस्था परिवर्तन भएको पाउन सकिन्छ । यसबीच कैयौं देशहरू अन्य देशको कब्जाबाट मुक्त भएका छन् भने कतिपय देशको आन्तरिक राजनैतिक व्यवस्थामा उलटफेर वा परिवर्तन भएको छ । देशको आन्तरिक व्यवस्था परिवर्तन होस् वा देशलाई अन्य देशको कब्जाबाट मुक्त गर्न होस्, ती सबै देशमा सङ्घर्ष वा आन्दोलन भएकै छ । देशको मुक्ति वा स्वतन्त्रता तथा व्यवस्था परिवर्तनका लागि भएको आन्दोलनमा धेरैको सहभागिता हुन्छ । कतिपय देशमा शान्तिपूर्ण सत्ता परिवर्तन भएको पाइन्छ भने कतिपय देशमा हिंसात्मक आन्दोलन हुन्छ । यदि आन्दोलन सफल भयो भने सहभागी सबै योद्धा कहलाउँछन् र असफल भयो भने राज्यले उनीहरूप्रति आदर–भाव राख्दैन ।

कोही पनि शहीद हुने अवस्था राज्यको विरोधमा लागेर नै आएको हुन्छ । जसले शहीद बनाउँछ वा जसको कारणले शहीद बन्ने वातावरण बन्दछ उसले तत्कालीन अवस्थामा शहीदलाई शहीदको दर्जा नदिनु तथा शहीदको सम्मान नगर्नु, शहीदहरूबारे अनावश्यक टिप्पणी गर्नु र अझ शहीदप्रति नकारात्मक भाव विस्तार गर्नु स्वाभाविक हुन्छ । यद्यपि सर्वसाधारण नागरिकले भने सबै कुरो बुझिरहेको हुन्छ । राज्य तथा शहीदमा को सही र कसको भूमिकाले देशलाई बढी फाइदा पुग्छ भन्ने कुराको मूल्याङ्कन पनि समाजमा भइरहेको हुन्छ । समाजभन्दा ठूलो मूल्याङ्कनकर्ता कोही हुँदैन र समाजले गर्ने मूल्याङ्कन सचेत हुन्छ । यदि शहीदले लिएको उद्देश्य सही हो र देशको हितको लागि सचेततापूर्वक ज्यानको बाजी थापेर आन्दोलनमा गएको हो भने शहादत देशको लागि गौरव हो ।

शहीदप्रति सबैको हृदयमा सम्मान आवश्यक छ । र, यदि साँच्चीकै भन्ने हो भने बाहिर व्यक्त गरे पनि वा गर्न नसके पनि शहीदप्रति सबैको मनमा सम्मान हुन्छ । यदि त्यहाँका नागरिकले व्यवस्था परिवर्तन गर्न सकेका छन् भने त्यस अवस्थामा शहीदहरूप्रति अझ धेरै सम्मान भएको हुन्छ । पुरानो व्यवस्थाका हिमायतीहरूको मनमा भने केही आक्रोश होला वा असन्तोष होला तर त्यो आक्रोश वा असन्तोष शहीदप्रति होइन आफ्नो विगतप्रति हुन्छ । विगतमा आपूmहरूले अझ राम्रो गर्न सक्ने धेरै ठाउँ थिए जसलाई सदुपयोग गर्न सकिएन अनि अहिलेको अवस्था आयो भन्ने हुनुपर्छ । हुनत विश्वमा यस्ता बिरलै घटना होला कि कुनै व्यवस्था वा राजनैतिक अवस्था परिवर्तन भएपछि केही समयमा पुनः पुरानै व्यवस्था आएको होस् । समय अगाडि बढिसकेको हुन्छ, यसकारण पहिलेको व्यवस्था आउँदा पनि धेरै सुधारिएको हुन्छ र पहिलेभन्दा धेरै जनमुखी भएर आएको हुन्छ ।

अब अलिकति शहीदको सम्मानको कुरो पनि गरौं । धर्मशास्त्रमा ईश्वरको नामको माला वा मन्त्र जपेजस्तो शहीदको नाम जपेर वा शहीदप्रति सार्वजनिकरूपमा सम्मान अर्पण गरेर मात्र शहीदको सम्मान हुने हो ? कि शहीदको सपना साकार पार्न केही गर्नुपर्छ ? शहीदको सालिक वा तस्बिरमा माल्यार्पण गर्नुपर्छ । यो औपचारिक सम्मान हो । शहीदको योगदानको पनि स्मृति गर्नुपर्छ । शहीदको त्याग, शहीद हुँदाको अवस्थो, तिनका जीवनी तथा अन्य सकारात्मक पक्षबारे पनि शहीद दिवस वा शहादत दिवस वा शहीद सप्ताहको समयमा व्यापक चर्चा गरिनु अझ आवश्यक छ । शहीदहरूको सम्मानमा यस्ता अन्य कार्यक्रमहरू पनि गर्न सकिन्छस गर्नुपर्छ । जति धेरै औपचारिक कार्यक्रमहरू आयोजना हुन्छ, त्यत्ति धेरै सम्मान हुन्छ र वर्तमान पुस्तामा पनि सकारात्मक भावको सञ्चार हुन पाउँछ, नयाँ पुस्ताले पनि त्यस किसिमको त्याग, निस्स्वार्थ समर्पणबाट शिक्षा प्राप्त गर्छ । समाजलाई सही दिशामा लैजानको लागि समाज तथा समाजका अगुवा वर्गले पनि शिक्षा र चेतना पाउँछन् । बाटो बिर्सेकालाई, कर्तव्य भुलेकालाई शहीदको सम्मानले सुधार्ने वा सच्चिने मौका पनि दिन्छ । सही बाटोमा हिंडे नहिंडेको भन्ने कुरा समाजका अगुवाले स्वयं जाँच्ने आधार पनि शहीदहरूबाट लिन सकिन्छ । यसरी औपचारिक कार्यक्रमहरूको आयोजना पनि धेरै राम्रो हो ।

तर वास्तवमा शहीदहरूको चाहनालाई साकार रूप दिनु शहीदप्रति वास्तविक सम्मान हो । शहीद दिवस वा सप्ताहको अवसरमा शहीदहरूको स्मृति गर्नुपर्छ र शहीदहरूको सपना साकार पार्नको लागि प्रेरणा लिनुपर्छ । शहीदको सपना साकार पार्नको लागि शहीद दिवस नै चाहिन्छ भन्ने होइन, जहिले पनि गर्नुपर्ने हुन्छ । शहीदको आदर्श, सिद्धान्त तथा उद्देश्यलाई व्यवहारमा लागू गर्ने प्रयास गर्नुपर्छ । अनि मात्र शहीदप्रतिको वास्तविक सम्मान देखिन्छ । अनि स्पष्टतः शहीदहरूको सपना साकार भएको पनि समाजमा फैलाउनुपर्छ । कसरी शहीदले के सपना देखेका थिए र कसरी त्यो सपना समाजले साकार बनाएको छ, यसको जानकारी पनि सार्वजनिक भइरहँदा समाजले प्रेरणा पाइरहन्छ । शहीदहरूबाट समाजले सदैव प्रेरणा पाइरहने वातावरण बन्नुपर्छ ।

भनिन्छ, शहीदको सपना साकार भए–नभएकोबारे बुझ्ने आधार नागरिक हो । नागरिकले नै शहीदको सपना साकार पार्न मुख्य भूमिका खेल्न सक्छ । नागरिक र देशको लागि शहीदले सपना देख्ने र नागरिकले नै समाजको विकास गर्ने वातावरण बनाउन मानिसहरूले शहादत प्राप्त गर्ने हुनाले यथार्थमा शहीदहरूको सपना पूरा गर्नु सबैको साझा कर्तव्य पनि बन्ने हुन्छ । यदि हामी सबै आप्mनो ठाउँमा समाज र देशप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने हो भने पनि शहीदको सपना साकार पार्नको लागि सम्मानजनक भूमिका निर्वाह गरेको ठहर्छ । तर पनि शहीदबारे समाजमा निरन्तर चेतना फैलाइरहनुपर्छ । शहीदहरूबारे जति धेरै सकारात्मक चर्चा समाजमा चलिरहन्छ, त्यति धेरै ऊर्जा प्राप्त भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here