नितेश कर्ण, वीरगंज, १५ माघ/
कृषि ज्ञान केन्द्र, पर्साले जिल्लामा गत आर्थिक वर्षको तुलना चालू आवमा गहुँ, धान, मकै खेतीमा वृद्धि भएको जनाएको छ ।
केन्द्रका प्रवक्ता उमेश थापाले गत आवको तुलनामा चालू आवमा धान, मकै, गहुँ, कोदो, जौं आदि अन्नबालीका साथै तेलहनमा तोरी, सस्र्यूं, रायो, सूर्यमुखी, तिल, बदाम, आलस खेतीमा वृद्धि भएको जनाएको छ ।
गत आव पर्सा जिल्लामा ४७ हजार १३० हेक्टरमा धानखेती गरिएको र एक लाख ९९ हजार ४७ मेट्रिक टन धान उत्पादन भएकोमा चालू आवमा ४७ हजार २५० हेक्टरमा धानखेती गरिएको र त्यसबाट दुई लाख दुई हजार १३० मेटन धान उत्पादन भएको बताए ।
यसैगरी, गत आवमा २६ हजार ६५ हेक्टरमा गहुँखेती गरिएकोमा ९७ हजार ६१२ मेटन उत्पादन भएको र चालू आवमा २६ हजार १७५ हेक्टरमा गहुँखेती गरिएकोमा ९८ हजार २१५ मेटन उत्पादन भएको बताए ।
यसैगरी, मकैखेती चार हजार १८९ हेक्टरमा गरिएको र १७ हजार १६६ मेटन उत्पादन भएकोमा चालू आवमा चार हजार २२० हेक्टरमा मकैबाली लगाइएकोमा १७ हजार ३७६ मेटन मकै उत्पादन भएको बताए ।
गत आवमा धान, मकै, गहुँ, कोदो, जौं गरी जम्मा ७० हजार ४५५ हेक्टर क्षेत्रफलमा खेती भएको र तीन लाख १३ हजार ९१२ मेटन उत्पादन भएकोमा चालू आवमा ७७ हजार ७१९ हेक्टरमा खेती भएको र तीन लाख १७ हजार ८१३ मेटन उत्पादन भएको बताए । गत आवमा सात हजार ३५७ हेक्टरमा तोरी, सस्र्यूं, रायो, सूर्यमुखी, तिल, बदाम, आलसको खेती गरिएको र आठ हजार ४३ मेटन उत्पादन भएकोमा चालू आवमा सात हजार ४६९ हेक्टरमा खेती गरिएको र आठ हजार २६० मेटन उत्पादन भएको बताए ।
यसैगरी, गत आवको तुलनामा उखु र आलुखेती केही घटेको छ । गत आव तीन हजार ९०० हेक्टरमा उखुखेती गरिएको र एक लाख ७९ हजार ४०० मेटन उत्पादन भएकोमा चालू आवमा तीन हजार ९६० हेक्टरमा उखुखेती गरिएकोमा एक लाख ८१ हजार २०० मेटन उत्पादन भएको उनले बताए । यसैगरी, गत आवमा आलु दुई हजार ५६२ हेक्टरमा लगाइएको र ४२ हजार ४९९ मेटन उत्पादन भएकोमा चालू आवमा दुई हजार ६१२ हेक्टरमा लगाइएको र ४२ हजार ६९९ मेटन उत्पादन भएको बताए ।
यसैगरी, सुर्तीखेती गत आवमा २५० हेक्टरमा गरिएको र ६७५ मेटन उत्पादन भएको उनले बताए । चालू आवको सुर्तीखेती अहिले उत्पादनकै क्रममा छ । मसला खेतीमा गत आवमा अदुवा, लसुन, बेसार, खुर्सानी गरी कुल ५४५ हेक्टरमा लगाइएको र चार हजार १८९ मेटन उत्पादन भएको थियो । चालू आवमा ५५२ हेक्टरमा खेती गरिएको र दुई हजार ४४६ मेटन उत्पादन भएको प्रवक्ता थापाले बताए ।