प्रस, परवानीपुर, १५ माघ/
नेशनल इन्फोटेक कपको फाइनलमा वीरगंजको ग्लोबल बिजनेश कलेज र ज्ञानदा एकेडेमी भिड्ने भएका छन् । वीरगंजको नारायणी क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न दुईवटा सेमिफाइनल खेलमा यी दुई टीम विजयी भई फाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा ग्लोबलले सेन्ट जेभियर्स माविलाई २९ रनले पराजित गरी विजयी भएको थियो भने दोस्रो खेलमा ज्ञानदाले वीरगंज पब्लिक कलेजलाई नौ विकेटले पराजित गर्दै खेल जितेको थियो ।

पहिला ब्याटिङ गरेको ग्लोबलले निर्धारित ११ ओभरमा पाँच विकेटको क्षतिमा ८९ रन बनाएको थियो । ग्लोबलका कर्णबहादुर विश्वकर्माले ३६ र आदर्श भण्डारीले १३ रनको योगदान दिएका थिए भने सेन्ट जेभियर्सका इमरान अन्सारीले दुई र राजु महतोले एक विकेट लिएका थिए । ९० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सेन्ट जेभियर्सका ब्याटर्सहरू आज खेल्न सकेनन् । ११ ओभरको निर्धारित खेलमा आठ विकेटको क्षतिमा सेन्ट जेभियर्स मात्र ६० रनमा सीमित रह्यो । सेन्ट जेभियर्सका असीम अन्सारीले २२ र सगीर मियाँले १० रन बनाएका थिए भने ग्लोबलका कर्णबहादुर विकले दुई र रामकुमार मुखियाले एक विकेट लिएका थिए ।

त्यसैगरी, दोस्रो खेलमा पहिला ब्याटिङ गरेको बिपिसीले निर्धारित २० ओभरको खेलमा १५.१ ओभर खेल्दै १० विकेटको क्षतिमा ६८ रन बनायो । जसमा बिपिसीका अरसद हुसेनले २५ र अफजल अन्सारीले १० रन बटुलेका थिए भने ज्ञानदाका कन्हैयाकुमारले चार र रविन कुम्हालले दुई विकेट लिएका थिए । ६९ रनको विजयी लक्ष्य पाएको ज्ञानदाले ७.२ ओभरमा एक विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको थियो । ज्ञानदाका विवेक प्रजापतिले ४० र कार्तिक पटेलले ११ रनको योगदान दिएका थिए भने बिपिसीका रोहित सर्राफले एक विकेट लिएका थिए ।

पहिलो खेलमा ग्लोबलका कर्णबहादुर विक र दोस्रो खेलमा ज्ञानदाका कन्हैया कुमार आजको खेलका उत्कृष्ट खेलाडी घोषित भए । यो प्रतियोगिताको फाइनल खेल माघ १७ गते बिहीवार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here