भारत, १५ माघ/एएफपी
उत्तरी भारतमा मङ्गलवार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किंदा कम्तीमा पाँचजना भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
यो घटना राजधानी नयाँ दिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौं भक्तजन मिठाइ चढाउन एक मन्दिरमा भेला भएका थिए ।
“एउटा काठको संरचना भत्किंदा पाँचजनाको मृत्यु भएको छ,” जिल्ला प्रशासक अस्मिता लालले भनिन्, “अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।”
जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ ।
“पुजारीहरू लड्डु चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौं भक्तजनसहित भत्कियो,” भक्तजनमध्ये एक राकेश जैनले प्रसारणकर्तालाई भने ।
भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजास्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् ।
गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो ।
अर्काे घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतिसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।
मङ्गलवारको दुर्घटना नजीकैको शहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व महाकुम्भ मेलामा लाखौं भक्तजन सहभागी भइरहेका बेला भएको हो ।
जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् । यस धर्मले अहिंसा, कडा शाकाहारिता र सबै जीवजन्तुप्रति प्रेमको शिक्षा दिन्छ । रासस