वाशिङ्टन, १५ माघ/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डनजस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने इच्छा दोहो¥याएका छन् । साथै उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वाशिङ्टनमा चाँडै नै भेट गर्ने बताएका छन् ।
उनले शनिवार इजरायल र हमासबीच १५ महीनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई ‘भग्नावशेष’ मा परिणत गरेपछि गाजा ‘सफा गर्ने’ विचार अघि सारेका थिए ।
“म तिनीहरूलाई विनाअवरोध र क्रान्ति र हिंसाविना बस्न सक्ने क्षेत्रमा बसोवास गराउन चाहन्छु”–ती टिप्पणीबारे सोध्दा ट्रम्पले सोमवार साँझ एयर फोर्स वनमा पत्रकारहरूलाई भने–“तपाईंलाई थाहा छ, जब तपाईं गाजा पट्टीलाई हेर्नुहुन्छ, यो धेरै वर्षदेखि नर्क जस्तै छ… यससँग सधैं हिंसा जोडिएको छ ।”
दुई राज्य समाधानका लागि यसको अर्थ के हुन्छ भन्ने प्रश्नमा उनले नेतन्याहुसँग निकट भविष्यमा भेट गर्ने बताए । “उहाँ मसँग भेट गर्न यहाँ आउँदै हुनुहुन्छ”–उनले भने ।
ट्रम्पले हालैका दिनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि वार्ता गरेका छन् । अल–सिसीले ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुराको विरोध गर्दै आएका छन् ।
“म उहाँले केही लिनुहुन्छ भन्ने चाहन्छु,”–ट्रम्पले अल–सिसीबारे भने–“हामीले उहाँहरूलाई धेरै मदत ग¥यौं र म पक्का छु, उहाँले हामीलाई मदत गर्नुहुनेछ, जसरी उहाँहरू भन्नुहुन्छ, यो एक कठिन छिमेकी हो, तर म सोच्छु उहाँले यो गर्नुहुनेछ र म सोच्छु जोर्डनका राजाले पनि यो गर्नुहुनेछ ।”
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करीब २४ लाख बासिन्दा विस्थापित भएका छन् ।
पछिल्लो छ हप्तादेखि युद्धविराम चलिरहेको छ । युद्धविरामले गाजामा रहेका करीब १,९०० प्यालेस्टिनी कैदीको सट्टा ३३ जना बन्धकलाई रिहा गर्न अनुमति दिइएको छ ।
यो पहिलो चरणको वार्तामा दोस्रो चरणका शर्तहरू अन्तिम बन्धकहरूलाई मुक्त गर्ने र युद्धलाई निश्चित अन्त्यमा ल्याउने उद्देश्यका साथ वार्ता गर्नुपर्नेछ ।
अन्तिम चरणमा गाजाको पुनर्निर्माण र बन्धकमा मृत्यु भएकाहरूको शव फिर्ता गर्ने काम समावेश हुनेछ ।
पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गाजा युद्ध–पश्चात् विभिन्न योजनाहरू तयार गरेको थियो तर ट्रम्पले अहिलेसम्म तिनको कुनै उल्लेख गरेका छैनन् । रासस