प्रस, वीरगंज, १४ माघ/
पर्सा जिल्ला धोबिनी गाउँपालिका–१ घोडदौडाटोलानजीकको ओरिया खोलामा झोलुङ्गे पुल निर्माण कार्य शुरू गरिएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण अनिश्चित बनेको छ ।

झोलुङ्गे पुल निर्माणका लागि विनियोजित रकम जनप्रतिनिधिहरूले हिनामिना गरेकाले पुल अहिलेसम्म बन्न नसकेको हो ।

यस अघिका गापाध्यक्ष सुरेशप्रसाद कुर्मीले पुल निर्माणका लागि उपभोक्ता समिति निर्माण गरेका थिए । उपभोक्ता समिति पनि आफैंसँग मिल्दोजुल्दो नाम भएको सुरेश कुर्मीको अध्यक्षतामा गठन गरेका थिए । पूर्वगापाध्यक्ष सुरेशप्रसाद कुर्मी वडा नं ४ निवासी हुन् भने उपभोक्ता समितिका अध्यक्ष सुरेश कुर्मी वडा नं १ निवासी हुन् । उनलाई आफू उपभोक्ता समितिको अध्यक्ष भएको थाहा छैन । उनै सुरेश कुर्मीको नाममा भने पूर्वगापाध्यक्ष कुर्मीले दुईपटक गरी ४४ लाख रुपैयाँ पेश्की लिएको देखिन्छ । सो रकमबाट दुईवटा पाँच फिट गोलाइका ५.४ फिट लामा दुईवटा पिलर मात्र ढालेको देखिन्छ । त्यसबाहेकको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७५/७६ मा पुल निर्माणका लागि गापाले रु ९५ लाख ९७ हजारमा आठ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी उपभोक्ता समितिसँग सम्झौता गरेको देखिन्छ ।

ओरिया खोलामा पुल नहुँदा घोडदौडाका बासिन्दा वर्षात्को समयमा छिमेकी देश भारतको बाटो प्रयोग गरी औषधि उपचारका लागि वीरगंज आउने गर्छन । झोलुङ्गे पुल निर्माण नहुँदा यहाँका बासिन्दा यस्तै भोगाइ भोग्न बाध्य छन् । भारतीय गाउँ इनर्वा, खमिया, दसौता भएर नेपाली गाउँमा जाने बाध्यता गाउँलेहरूले अहिलेसम्म भोग्दै आएका छन् । पूर्वगापाध्यक्षको समयमा निर्माण गरिएको उपभोक्ता समितिको खातामा एक पैसा बाँकी छैन सबै झिकिसकिएको छ । गापाको लेखा शाखा अनुसार उपभोक्ता समितिले २०७५/७६ मा २६ लाख र २०७६/७७ मा १८ लाख गरी ४४ लाख रुपैयाँ पेश्की लिएको थियो । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनले सम्झौता अवधिसम्म कार्य सम्पन्न नभएकोले ब्याजसमेत जोडेर असुल गरी पेश्की बक्यौता रकम फछ्र्योट गर्न गापालाई निर्देशन दिएको पनि चार वर्ष बितिसक्यो तर अहिलेसम्म गापा कार्यालयले यस विषयमा ध्यानै दिएको छैन ।

पहिलो पेश्की लिएको समितिले काम नै नगरी अर्काे पेश्की दिने कार्य भएकोमा इन्जिनीयरको नियत पनि सफा देखिंदैन । निर्माण कार्यको प्राविधिक प्रतिवेदनविना नै पेश्की दिएको कारण इन्जिनीयरको पनि मिलेमतो देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले झोलुङ्गे पुल निर्माणमा अनियमितता भएको बताए । तर तत्कालीन अवस्थामा त्यस गापाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पनि उनी नै थिए । उपभोक्ता समितिका अध्यक्ष सुरेश कुर्मीले समितिको नाममा पेश्की आफूले नबुझेको बताउँदै आएका छन् । उनले कुनै पनि भुक्तानी, खर्चमा आफ्नो सही सनाखत नरहेको र फर्जी काम गरिएको आरोप लगाए । समितिका सदस्यहरू भने तत्कालीन गापाध्यक्ष कुर्मी निकट लालबाबू भन्नेले आफूहरूसँग खाली चेकमा हस्ताक्षर गराइ रकम झिकेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here