प्रस, वीरगंज, १४ माघ/
वीरगंज स्कूल अफ लका विद्यार्थीहरूले वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई छाडा चौपायाको व्यवस्थापन गर्न मागसहित सोमवार ध्यानाकर्षणपत्र बुझाएका छन् । विद्यार्थीहरूले वीरगंजको मुख्य तथा सहायक सडकहरूमा खुलारूपमा छाडा चौपाया हिंड्दा दुर्घटनाको जोखिम बढेको भन्दै नगरप्रमुख सिंहलाई सोको व्यवस्थापन गर्न माग गरेका थिए ।
घण्टाघर, माईस्थान, गहवा, श्रीपुर, पावरहाउसलगायत महानगरका विभिन्न स्थान, गल्लीहरूमा छाडा चौपायाका कारण सवारी जाम हुने, बटुवाहरू आक्रमणको शिकार हुने गरेकाले सोको उचित व्यवस्थापनमा महानगरले कदम चाल्नुपर्ने माग गरेका थिए । विद्यार्थीहरूले छाडा चौपाया नियन्त्रणको जिम्मेवारी स्थानीय तहको भएकोले यसमा गम्भीरतापूर्वक कारबाही नभएको खण्डमा कानूनी बाटो अवलम्बन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।
ध्यानाकर्षणपत्र बुझ्दै नगरप्रमुख सिंहले समस्याबारे अवगत गराएकोमा धन्यवाद दिंदै छाडा चौपाया व्यवस्थापन गरिने बताए । उनले छाडा चौपाया नियन्त्रणमा महानगर गम्भीर भएको र यस विषयमा अविलम्ब कदम चाल्ने बताए । वीरगंज स्कूल अफ लका नवीनराउत कुर्मी, मुकेश साह तेली, सलाउद्दीन अन्सारी, अवधेश राम, विवेक रसीद अन्सारी, अमृता साह, रतिका साह, शिवानी महतोलगायतको सहभागिता थियो ।