प्रस, निजगढ, १४ माघ/
निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा सङ्घीय सांसद अच्युत मैनालीले वन क्षेत्रको संरक्षण, संवद्र्धन गरेबापत देशभरका सबै सामुदायिक वनलाई उछिन्दै यस सामुदायिक वन समूह गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट नगद एक लाखसहित सम्मानित भएकोमा सराहना गरे ।
“हामी मानव प्रकृतिका पूजक हौं । प्रकृतिमा नै हाम्रो जीवन अडेको छ । त्यसैले वन क्षेत्रको संरक्षणमा हामी सबै एकजुुट भएर लाग्नुुपर्छ”–उनले भने ।
वन समूहले वन पैदावर बिक्री वितरण मात्र नभई गरीबी निवारणतर्फ समेत महŒवपूर्ण भूमिका खेल्दै आएको भन्दै समयसापेक्ष वन ऐन, कानून संशोधन गर्न वनमन्त्री र वन मन्त्रालयको ध्यानाकर्षण गराएको नेता मैनालीले बताए । प्रकृतिको सानै भएपनि जथाभावी विनाशले कालान्तरमा ठूलो प्राकृतिक विपत्ति र त्यसका असरहरू निम्तिइरहन सक्ने भन्दै पछिल्लो एक दशकयतादेखि संसारभरिको वातावरणमा आइरहेको अप्राकृतिक फेरबदल, वनजङ्गल विनाश, प्राकृतिक स्रोत–साधनको अचाक्ली दोहनकै कारण भएको बताउँदै यसतर्फ बेलैमा सचेत, सजग हुन मैनालीले आग्रह गरे ।
कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले वनजङ्गल संरक्षण पहिलो शर्त रहेको बताउँदै त्यसका विधि, प्रक्रिया पूरा गर्दै यसको सदुुपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा फेकोफनकी केन्द्रीय सदस्य दुर्गा कोइरालाले सामुदायिक वन समूहको विकासमा आइपरेका अप्ठ्यारा समाधान गर्न आपूmले खेल्नुपर्ने भूमिकाबाट कहिल्यै पछि नहट्ने बताइन् ।
जिल्ला फेकोफनका अध्यक्ष रामजी बजगाईंले वन ऐन, कानूनलाई बेलैमा सुधार गर्न नसक्दा सामुदायिक वन समूहहरूले चाहे जति उपलब्धि हासिल गर्न बाधा परिरहेको औंल्याए ।
कार्यक्रममा उपप्रमुख सोममाया थिङ, वडाध्यक्ष टेकबहादुर लामा, निजगढ सबडिभिजन वनका प्रमुख नीरज पोखरेल, निजगढ नपा वन तथा वातावरण शाखा प्रमुख अनिल कोइराला, समाजसेवी एकबहादुर श्रेष्ठ, सुदर्शन कोइराला, चन्द्रिका मगरलगायतले मन्तव्य राखेका थिए ।
वन समूहले पाँच हेक्टर क्षेत्रफलमा करीब १५ करोडको लागतमा अत्याधुनिक सुविधासहितको पार्क निर्माणका लागि डिपिआर तयार गरिसकेको जानकारी गराइएको थियो । कार्यक्रममा वार्षिक प्रगति विवरण वन समूहका अध्यक्ष खड्गबहादुर मोक्तान र आर्थिक प्रतिवेदन लेखा संयोजक हरिप्रसाद पण्डितले प्रस्तुत गरेका थिए । उपाध्यक्ष रत्नकुमारी बर्तौलाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्थानीय राजनीतिक दल, सङ्घ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । वन समूहका अध्यक्ष खड्गबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामकुमार सिंजालीले गरेका थिए ।