प्रस, निजगढ, १४ माघ/
निजगढ सामुदायिक अस्पतालको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बारा क्षेत्र नं १ का सांसद अच्युत मैनालीले समुदायमा आधारित प्रसूतिगृहसँगै निजगढ अस्पतालको विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । अस्पताल निर्माण र सञ्चालनले दैनिक धेरैले आप्mनै ठाउँमा गुणस्तरीय उपचार पाउने वातावरण सिर्जना भएको भन्दै जग्गादाताहरू राजमान श्रेष्ठ, प्रेम नारायण श्रेष्ठ, हीरालाल श्रेष्ठको सांसद मैनालीले खुलेर प्रशंसा गरे ।
सर्वसुलभ मूल्यमा गुणस्तरीय उपचार सेवा पाउन सके अझै यस अस्पतालमा बिरामीको चाप बढ्ने र निजगढले आर्थिक विकासमा फड्को मार्ने बताउँदै आर्थिक अवस्था कमजोर रहेर पनि अढाई दशक पार गरिसकेको यो अस्पताल निजगढको गौरवका रूपमा स्थापित भइसकेकोले यसको स्तरोन्नति र विकासका लागि समग्र निजगढवासीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने नेता मैनालीले बताए ।
कार्यक्रममा निजगढ नपाका प्रमुख सुरथ पुरी, पूर्वनगरप्रमुुख सुरेशकुमार खनाल, उपप्रमुख सोममाया थिङ, पूर्वउपप्रमुख लीलादेवी लामिछाने, संस्थाका संस्थापक अध्यक्ष एकबहादुर श्रेष्ठ, वडाध्यक्ष रामचन्द्र कटुवाल, समाजसेवी शम्भु बुढाथोकीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत संस्थाकी उपाध्यक्ष सावित्री भारतीले गरेकी थिइन् । संस्थाका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए ।