प्रस, वीरगंज, १३ माघ/
नेपाल शिक्षक महासङ्घ, पर्साले आइतवार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव र सचिव विनोद गिरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र जानकी मन्दिरमा पुगेर पूजा अर्चना गरी जानकी मातालाई बुझाइएको हो । यस अघि जनकपुरधाममा एमाले महासचिव शङ्कर पोखरेललाई ध्यानाकर्षणपत्र बुझाइएको थियो ।

महासङ्घ पर्साका अध्यक्ष यादवले सरोकारवाला सबैलाई ध्यानाकर्षण पत्र बुझाएको र उनीहरूलाई बहुदरमाई नपाका जनप्रतिनिधिहरूलाई सद्बुद्धि प्रदान गरून् भनेर जानकी मातालाई ज्ञापन बुझाइएको बताए । महासङ्घ पर्साको आह्वानमा यही माघ ६ गतेदेखि बहुदरमाई नपाका सामुदायिक विद्यालयहरूमा तालाबन्दी गरिएको छ र विद्यालयका साँचो प्रजिअ गणेश अर्याललाई सुम्पिएको छ ।

बहुदरमाई नपाका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले छोराछोरीको शुल्क तिर्न नसकेको, घरखर्च धान्न अप्ठेरो भएको, जिन्सी सामानहरू राखेर ऋण लिनुपरेको लगायतका समस्याहरू सिर्जना भएको, त्यसतर्पm नगरपालिका अनभिज्ञ देखिएको भन्दै नेपाल शिक्षक महासङ्घले आन्दोलन गरेको र सुनवाइ नभएपछि नपाका सबै सामुदायिक विद्यालय बन्द गराएको थियो । अहिले विद्यालय बन्द भएको एक साता बितिसकेको छ ।

बहुदरमाई नपामा गत कात्तिक ८ गते नगरसभा सम्पन्न भएको थियो । असार १० गते हुनुपर्ने नगरसभा नगरप्रमुख सिंहासन साह तेली र उपप्रमुख सुषमा कुशवाहाबीचको विवादका कारण हुन सकेको थिएन । यसैबीच, प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले स्वास्थ्यकर्मी नियुक्तिका लागि लिएको परीक्षाफल प्रकाशित गरेपछि नगरप्रमुख तेली रिसाएका थिए । नगरप्रमुख तेलीले प्रप्रअ मुस्तफाको सरुवा हुनुपर्ने अडान लिएका छन् भने उपप्रमुख कुशवाहासमेत बहुमत बोर्ड सदस्यहरू प्रप्रअको सरुवा नगराउने अडानमा छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री राजकुमार गुप्ताले प्रप्रअ मुस्तफाको अवधि दुई वर्ष नपुगेको भनेर सरुवा गर्न मानेका छैनन् ।

बहुदरमाई नपामा यस अघि विद्यार्थीहरूले नपा कार्यालयमा तोडफोड गर्दै आगजनी गरेपछि करीब एक करोड मूल्यको क्षति पुगेको थियो । यो पालिकामा गत जेठदेखि नै विवाद बढ्दै गएको र कात्तिकमा जनप्रतिनिधिहरूबीच सहमति बनेर नगरसभा भएपनि त्यसको प्रमाणीकरण नगरप्रमुखले अहिलेसम्म नगरेकाले मन्त्रालयले खाता सञ्चालन गरेको छैन । नगरप्रमुखले नगरसभाको प्रमाणीकरण नगरुन्जेलसम्म मन्त्रालयले खाता सञ्चालन नगर्ने हुँदा अहिलेसम्म यो नगरपालिका बेतिथिको शिकार भएको छ र आर्थिक कारोबार ठप्प छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here