प्रस, वीरगंज, १३ माघ/
इलाका प्रहरी कार्यालय, सिमराको हिरासतबाट आइतवार बिहान एकजना थुनुवा फरार भएको छ ।
अभद्र व्यवहार मुद्दामा इप्रका, सिमराको थुनुवामा रहेको जीतपुरसिमरा उपमहानगर–२ निवासी महेश चौधरी फरार भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
थुनुवामा रहेका चौधरीलाई हिरासतमा रातभर जम्मा भएको फोहर फाल्न लगाइएको थियो र सोही क्रममा ड्युटीमा रहेका प्रहरीको आँखा छलेर उनी फरार भएका थिए । सामान्य किसिमको मुद्दा भएकोले प्रहरी हेलचक्राइँमा थुनुवा फरार भएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनको खोजी कार्य भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।