प्रस, वीरगंज, १३ माघ/
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक सङ्कटमा गुज्रिरहेको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् ।
प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व ल्याउने सोचका साथ अहिलेको सरकार बनेको बताए ।
उनले हालको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन थालेको दाबी गरे । नयाँ सरकार बनेपछि पूँजीगत खर्च बढेको, विदेशी मुद्रा सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको बताए । उनले लगानी र आर्थिक क्रियाकलापका क्षेत्रमा केही समस्या देखिएका कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारका लागि पाँचवटा अध्यादेश ल्याएको प्रस्ट्याए ।
संसदीय प्रक्रियामा कानून बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक सङ्कट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकारले सोको सुधारका लागि अध्यादेश ल्याएको बताए । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको महासचिव पोखरेलले बताए ।
राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भएपनि त्यसमा कुनै सत्यता नरहेको बताए । प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको तर्क थियो । दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले ढल्ने कुनै सम्भावना नरहेको उनले दाबी गरे ।
मधेसका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको महासचिव पोखरेलले बताए । उनले मधेसको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने ठोकुवा पनि गरे ।
आगामी चुनावमा काङ्ग्रेस र एमालेबीच एक्लाएक्लै चुनाव लड्ने सहमति भएको बताउँदै उनले ठूला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता आएको बताए ।