प्रस, वीरगंज, १२ माघ/
वीरगंज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले क्षणिक स्वार्थमा लागेर पत्रकारिता नगर्न सुझाएका छन् ।
नेपाल मुस्लिम पत्रकार सङ्घ पर्साले शनिवार आयोजना गरेको नेपाल पत्रकार महासङ्घका निर्वाचित पदाधिकारी, सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख आलमले राज्यले गर्ने सही र गलत कार्यको उजागर गर्ने पत्रकारहरूप्रति समाजको विश्वास भएकोले सोही अनुसार कार्य गर्न आग्रह गरे । उनले क्षणिक स्वार्थका लागि गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा नकारात्मक असर पुग्ने हुँदा यस कुरालाई मनन गरी पत्रकारिता गर्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका साथै केन्द्र, मधेस प्रदेशमा निर्वाचित पर्साका पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
नेपाल मुस्लिम पत्रकार सङ्घ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबू शेख, नेपाल पत्रकार महासङ्घ लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्व पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार सङ्घको तर्फबाट उपप्रमुख आलमले ३१ हजार रुपैयाँ सहयोग राशि हस्तान्तरण गरेका थिए ।