प्रस, परवानीपुर, १२ माघ/
दिल्ली पब्लिक स्कूलको आयोजनामा एक दिने जाडो मेला सम्पन्न भएको छ । बारा, परवानीपुर–४ चैनपुरस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन परवानीपुर गापाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले गरेका थिए ।

मेलामा विद्यार्थी तथा अभिभावक मिलेर विभिन्न स्टलसमेत सञ्चालन गरेका थिए । कक्षा १२ उत्तीर्ण भएपछि कमाउने र पढ्ने अभिप्रायले स्टार्टअप व्यवसायको अवधारणा विद्यार्थीमा स्थापना गर्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका बिजनेश हेड गर्ली अग्रवालले बताइन् ।

कार्यक्रममा प्रप्रअ रौनियारले विद्यालयमा यस्तो अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक रञ्जीव आनन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव आशिष लाठ, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष गजेन्द्र गुप्ता, सिजी इजुकेशनकी मार्केटिङ हेड सरला खड्कालगायत सञ्चारकर्मीहरूको सहभागिता थियो ।

मेलामा करीब ४५ वटा स्टल राखिएका थिए भने विद्यार्थीहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिएर दर्शकहरूलाई झुमाएका थिए । मेलामा पर्सा र बाराका विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here