प्रस, वीरगंज, १२ माघ/
राष्ट्रिय वैश्य महासङ्घ नेपाल पर्सा जिल्ला कार्यसमिति गठन भएको छ । कलवार कल्याण धर्मशालामा शनिवार बजरङ्गी साहको अध्यक्षतामा भएको भेलाले डा सन्तोषकुमार साहको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष प्रेमचन्द्र चौरसिया, उपाध्यक्षहरू राजेन्द्रप्रसाद गुप्ता, जवाहरप्रसाद गुप्ता, महिला उपाध्यक्ष विमला गुप्ता, महासचिव अनिलकुमार सर्राफ, सचिवहरू रामपुकार पण्डित, सञ्जय साह गोढ, जयप्रकाश नायक, कोषाध्यक्ष मोतीलाल साहलगायत छन् ।
नयाँ कार्यसमितिका पदाधिकारी, सदस्यहरूको आजै शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि तेली समाजका अध्यक्ष विश्वनाथ साहले वैश्य समुदायलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । उनले जातीय पहिचानलाई हटाएर वैश्य समाजको सामूहिक पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का प्रदेश अध्यक्ष शम्भुप्रसाद गुप्ताले वैश्य समाजमा नोट र भोट दुवै भएपनि एकताको अभाव भएकै कारण समाज पछि परेको तर्क गरे ।
कलवार कल्याण समाजका जिल्ला अध्यक्ष शम्भुप्रसाद कलवारले वैश्य समाज व्यापार र व्यवसाय क्षेत्रमा सक्रिय भएपनि राजनीतिक क्षेत्रमा पनि प्रभाव जमाउनुपर्ने बताए । तेली समाज नेपाल पर्साका अध्यक्ष ध्रुव साहले वैश्य समाज आर्थिक तथा सामाजिक क्षेत्रमा सक्रिय भएपनि राजनीतिमा कमजोर भएको बताए ।
कार्यक्रममा चौरसिया कल्याण समाजका अध्यक्ष रामाकान्त चौरसिया, तुरहा समाजका केन्द्रीय सल्लाहकार जयप्रकाश तुरहा, डा अशोक दास, संंविधानसभा सदस्य प्रमोद गुप्ता, कानू समाजका अध्यक्ष किशोरीप्रसाद कानूलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण असर्फी साहले गरेका थिए ।