बलिराम शुक्ला, बडनिहार, १२ माघ/
पर्सागढी नगरपालिका–१ कोइलाभारमाई खेलमैदानमा शनिवारदेखि दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित कोइलाभारमाई युवा क्लब मनवाद्वारा सञ्चालित प्रतियोगिताको पर्सागढी नगरपालिकाका उपप्रमुख पूजा चौधरीले उद्घाटन गरेकी थिइन् । उनले खेलले नै गाउँ, नगर र देशलाई भएकोले पर्सागढी नगरपालिकाले खेललाई प्राथमिकतामा राखेको दाबी गरिन् । उनले अहिलेसम्म पुरुषले मात्र पर्सागढीमा फूटबल खेल्दै आएका तर आगामी दिनमा महिलाहरू पनि मैदानमा उत्राने तयारी भइरहेको बताइन् ।
कार्यक्रममा समाजसेवी दुर्गाप्रसाद लामिछाने, सोमबहादुर लामा, गिरिराज कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोइलाभारमाई युवा क्लब मनवाका अध्यक्ष मोहनप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष तुलाराम महतोले स्वागत र रामजनम चौधरीले सहजीकरण गरेका थिए ।
उद्घाटन खेलमा मौवादेवी युवा क्लब बाराले वीरगंज सिटी क्लबलाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित ग¥यो । मौवादेवी क्लबका अमित बछारले दुई र कृपा चौधरीले एक गोल गरेका थिए । यस खेलमा मौवादेवी क्लबका अमित बछार ‘म्यान अफ दी म्याच’ घोषित भए । भोलि आइतवार वनशक्तिमाई युवा क्लब सिद्धपुर पर्सा र जीतपुर एसटी क्लब बाराबीच हुने आयोजक कमिटीका भरत श्रेष्ठले बताए ।