प्रस, वीरगंज, ११ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले गढीमाई मन्दिरमा माघ १ गते तोडफोड गरेको कसूरमा तीनजनालाई पक्राउ गरेको छ ।
माघ १ गते यस वर्षको पञ्चवर्षीय मेलामा भाकल छुटेकाहरूले बोकाको बलि र परेवा उडाएका थिए । सोही क्रममा केही व्यक्तिहरूले परेवा लुट्ने प्रयास गरेका र सोको रोकथाम गर्दा महागढीमाई नपाका नगरप्रहरीमाथि उनीहरू जाइलागेका थिए । उनीहरूले माघ २ गते गढीमाई मन्दिरमा तोडफोड गरी घण्टी, त्रिशूल, पङ्खा, सिसिटिभी, दानपेटिका र मन्दिरको विवाहमण्डपमा तोडफोड गरेको र डियुटीमा रहेका नगरप्रहरीलाई समेत दुव्र्यवहार गरेको कसूरमा पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले बताए । उनले रौतहट, वृन्दावन नपा–२ बस्ने २३ वर्षीय एजाज अन्सारी, महागढीमाई नपा–१ बस्ने १९ वर्षीय अरमान अन्सारी र सोही ठाउँ निवासी ३६ वर्षीय विद्यासागर पटेललाई पक्राउ गरिएको बताए । उनले अभियुक्तहरूलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको दाबी गरेका छन् । पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता सापकोटाले बताए ।
गढीमाई मन्दिरमा भएको तोडफोड घटनाको विरोधमा दोषीलाई कारबाई गर्न विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गृहमन्त्रीसमेतलाई ध्यानाकर्षण गराएका थिए ।