प्रस, वीरगंज, ११ माघ/
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुघ्नप्रसाद सिंह चढेको गाडीलाई ठक्कर दिने गाडी जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, पर्साको रहेको जनाइएको छ ।
सो कार्यालयका प्रमुख माधव देव आफ्नो चालकलाई कार्यालयमा छोडी विगत १० दिनदेखि कार्यालयको स्कारपियो गाडी लिएर बेपत्ता छन् । सो कार्यालयका एकजना कर्मचारीले विगत १५ वर्षदेखि लक्ष्मी पासवान करारमा चालक पदमा कार्यरत छन् । ठक्कर दिने गाडी १० महीनाअगाडि मन्त्रालयले खरीद गरी पठाएको थियो । कार्यालय प्रमुख देव भने कहिले कार्यालयमा नबस्ने, गाडी लिएर बाहिरबाहिर मात्र छन्, ती कर्मचारीले बताए । एकजना कर्मचारीले प्रमुख देवले आफूसँगै ल्याएका एकजना व्यक्तिलाई दैनिक ज्यालादारीमा चालक राखी गाडी लिएर बाहिरै घुमिरहेको बताए । कार्यालयमा चालक रहेको अवस्थामा आफूखुशी चालक राख्नु गलत कार्य भएको ती कर्मचारीले बताए । प्रमुख देवले ल्याएका चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।
जनकपुरको रामानन्द चोकमा सोमवार राति मन्त्रीको गाडी र प्रमुख देवका गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको र दुवै गाडीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक वरुण सिंहले बताए ।