• डा शिवशङ्कर यादव

भारतको बैकुण्ठपुरकी सीताको बिहे नेपालमा बिसुनपुरका रामचन्द्रसँग भएको थियो । माइतिमा सीताकी एकजना साथी थिइन्, फुलवानी । एक हिन्दू, अर्की मुस्लिम तर दुवैबीच केटाकेटीदेखि नै नङ्ग–मासुको सम्बन्ध थियो । दुवै सँगै खेल्थे, खेतबाट सागसब्जी टिप्थे र परे झगडा पनि गर्थे । संयोग कस्तो कि फुलवानीको निकाह पनि बिसुनपुरकै अमजद अलीसँग भयो । त्यस बिहेमा सीताको सिफारिश र योगदान थियो । यसरी दुवै सहेलीको सम्बन्ध ससुरालमा पनि यथावत रह्यो ।

अमजद अली ट्रक ड्राइभर थिए । रामचन्द्र भने सम्पन्न किसान । सीताको मनमा सम्पन्नताको कुनै अहङ्कार थिएन । संस्कृति सर्वधर्मसमभावको भाषा हो । बहुल–संस्कृतिले सबैलाई आप्mनै रंगमा रंगिदिन्छ । सीता र फुलवानीबीच एउटै फरक थियो । सीता सिन्दुर लगाउथिन्, फुलवानीको सिउँदो खाली हुन्थ्यो ।

एक दिन एउटा अप्रत्याशित घटना भयो । ट्रकले किचिएर अमजद अलीको इन्तकाल भयो । त्यस दिन अमजद अली एपउटा पहाडी बिसौनीमा केही खाइरहेका थिए । माथि एउटा ट्रक थियो, जुन एक्कासि तलतिर गुड्न थाल्यो र अमजद अलीलाई च्याप्दै बेसीमा अडियो । फुलवानीको अवस्था विदिर्ण थियो । त्यो देखेर सीता पनि विचलित भइन् । हे भगवान् १ यो कस्तो बज्रपात भयो ? जवान फुलवानीको जीवन अब कसरी बित्ला ? जे होस्, समयले दुःख समथर पार्दै ल्यायो । तर घरको पालन–पोषणकर्ता एक मात्र अमजद अली थिए । गुजारा कसरी चल्ने ?

सीताको सहयोगले फुलवानीले एउटा पसल थापिन् । दश वर्ष बित्यो । सीतालाई सन्तान भएन । तर उनको र रामचन्द्रको प्रेममा कुनै कमी आएन । सन्तान नभएकोले जवानीमैं दुवैको मन वैराग्यतिर लाग्यो । दुवैले सिद्ध महात्मा परिमल दाससँग दीक्षा लिए । भजन कीर्तन, तीर्थ धाम दिनचर्या बन्यो । एकपल्ट रामचन्द्र अन्यत्र गएका थिए । सीतालाई कात्तिक पूर्णमासीको गङ्गास्नान गर्नु थियो । उनले फुलवानीलाई साथ हिंड्न आग्रह गरिन् । फुलवानीलाई के आपत्ति ? दुवै गंगा स्नान गर्न हिंडे । गङ्गा किनारमा स्नान गर्ने आइमाई र पुरुषकोे भीड हेरेर फुलवानीको आश्चर्य र खुशीको ठेकान नै रहेन । फुलवानीले हजबारे सुनेकी थिइन् । मस्जिदमा त आइमाईले जान वर्जित छ । फर्केपछि फुलवानी यति अभिभूत भई कि सीतालाई भनी ः सीता, आजदेखि तिमी जुन पनि तीर्थ जान्छ्यौ म पनि तिम्रो साथ जानेछु । नत्र भने हाम्रो सखियाना कट्टी हुनेछ ।

सिताले भनिन् : तिम्रो समाजले मन पराएन भने ? फलवानीले भनिन् ः म आप्mनो दानापानी आफैं कमाउँछु, समाजले त दिंदैन । आप्mनो मेहनतको कमाइ खान्छु । अल्लाहको इबादत गर्छु । लोग्नेले साथ छोडिदिए । जहाँ रंग छ, आनन्द छ, त्यो जुन धर्म भए पनि त्यहाँ पक्कै अल्लाह बसेको हुनुपर्छ ।

गङ्गास्नानको एक वर्षपछि माओवादी आन्दोलन शुरू भयो । पहाडबाट उठेको लप्को मधेसमा पुग्यो । माओवादीले त्यसलाई जनयुद्ध, जनमानस–कोही आतङ्क त कोही व्यवस्थाको जमेको पोखरीमा ढुङ्गा हानेको भन्थ्यो । तर मान्छे आतङ्कित थिए । कसैको बखारी लुटिन्थ्यो, कसैको खेत कब्जा हुन्थ्यो । कोही दिनदहाडै मारिन्थ्यो । जन–अदालत बस्थ्यो । कोही निजी दुश्मनीलाई पनि माओवादीसँग मिलेर साध्ने गथ्र्यो । सम्पन्न व्यक्ति सबै गाउँ छोडेर शहर पसे । रामचन्द्र पञ्चायती व्यवस्थामा मुखिया थिए । उनले जबर्जस्ती अर्काको खेत जोत्ने एकजनाबाट सरोकारवालालाई दिलाइदिएका थिए । त्यसैको रिस साधियो रामचन्द्रमाथि । एक दिन एउटा जन्ती गएका रामचन्द्र शामियानाबाट निस्कने बित्तिकै ढले । माओवादीले काम तमाम गरिदिए । सीताको मन विदिर्ण भयो । वैधव्यको यात्रामा उसका घरपालुवा जनावर गाई र कुकुर मात्र थिए । कुकुरको नाम मोती थियो । गाई उनले जेठाजुलाई दिइन् । मोती मात्र साथ रह्यो । कसैकसैले सीतामा बदलाको अग्नि भडकाउने कोशिश गरे । सीता भन्थिन् ः बदला कोसँग ? माओवादी एउटा सङ्गठन हो जो देश बनाउन हिंडेको भन्छ । मेरो घर र मन उजाडेर के देश बनाउलान् ? सीताले बदला होइन, श्रापको हतियार प्रयोग गर्थिन् । अब उनी पूण वैरागी बनिन् । जल चढाउन जाने काफिलाको बाटोमा सारीको कार्पेट बिछाउँथिन् । आश्चर्य के थियो भने सीतासँग फुलवानी पनि हुन्थिन् । अद्भुत थियो आस्थाको त्यो रंग । त्यसभन्दा पनि अद्भुत थियो फुलवानीको साथ । जनताले भन्थ्यो ः आस्थाको अगाडि त माक्र्सले पनि हार खाएका थिए । माओवादीको के बिसात ? मन्दिर र स्कूल तोडेर कुन राष्ट्र सप्रेको छ ? कर्बलामा सीता र फुलवानी सँगै जान्थे । मेला हेर्न होइन, इमाम साहबलाई ढोग्न । तर भारतमा कर्बलामा हिन्दू जाँदैनन् । हिन्दूको जुलूस मस्जिद भएर निकाल्न दिइँदैन । सुनेर दुवै उदास हुन्थे तर खुशी पनि हुन्थे कि नेपालमा त्यस्तो छैन । उनलाई डर थियो माओवादीले त्यो रोग नेपालमा पनि नल्याइ देओस् । एकचोटी शिवरात्रिमा दुवै सँगै पशुपति दर्शन गरेर आए । पशुपतिमा जुत्ता, चप्पल र अहिन्दू वर्जित छन् । तर मान्छेलाई लाग्थ्यो कि दुवै विधुवा हिन्दू हुन् । दुवैको वेशभूषामा कुनै फरक थियेन । मङ्सिर आयो । सीताले जानकी दर्शनको इच्छा भयो । दुवै सहेली परिमल दासका साथ जनकपुर रवाना भए ।

बाटोमा परिमल दासले बताउँदै गए : सीता को थिइन्, कसरी र किन दुःखको पहाड बोक्नुप¥यो ? कसरी समाजको निष्ठुरता सहिन् ? आदि आदि । जनकपुर पुगेर उनै अद्भुत जानकीको दर्शन गरेर एउटा होटलमा वास बसे । भोलिपल्ट धनुषाधाम र सीता–पूmलवारी हेरेर तीनैजना बस चढे । खचाखच भरिएको बसमा खुट्टा राख्ने पनि ठाउँ थिएन । निजगढको जङ्गल पुगेपछि आठ–दसजना तन्नेरीले बस रोक्न लगाए र बसमा पेट्रोल छरेर आगो लगाइदिए । सबै यात्रु त्यसैमा भस्म भए । सीता र फुलवानी कसैगरी हाम फालेर बाहिर निस्के । उनीहरूको साडीमा आगो लागिसकेको थियो । प्राण बचाउन दुवै जङ्गलभित्र पसे र बेहोश भएर लडे ।

सीता र फुलवानी त्यहीं मरे र उनीहरूको शरीर माटोमा विलीन भयो । केही दिनपछि फुलवानीको माटोमा सीताफल र सीताको माटोमा अशोकको बोट उम्रियो । सीताको प्रिय फल र लङ्कामा सीतालाई छहारी दिने रुख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here