नरेश यादव, पर्सागढी, १० माघ/
चीसो शुरू भएदेखि पर्सा जिल्लामा माछाको माग बढेको छ । चीसो मौसममा माछाको माग बढेसँगै मूल्य पनि बढ्ने गरेको छ ।

गर्मीमा भन्दा जाडोमा माछाको मूल्य बढ्ने गरेकोले माछापालक किसानहरू जाडोयाम शुरू भएपछि खुशी हुने गर्छन् । यद्यपि गर्मीको तुलनामा जाडोमा माछाको उत्पादन कम हुने गर्छ तर मूल्य भने करीब दोब्बरी हुने गरेकोले धेरैजसो किसान गर्मीमा भन्दा जाडोमा माछाको व्यापार गरेर आम्दानी गर्छन् । यसपटक पर्सामा माघ १ गतेदेखि चीसो बढेको छ । पुस महीनादेखि चीसो बढ्ने गरेकोमा यसपटक भने माघदेखि अत्यधिक चीसो शुरू भएको र माछाको माग बढेसँगै मूल्य पनि बढेको छ । गर्मीमा माछाको उत्पादन बढी हुन्छ तर मूल्य भने थोरै पाइन्छ । गर्मीमा कुखुरा तथा खसीको मासुको मूल्य बढ्ने गर्छ । अहिले बोइलर कुखुरा ज्यूँदो १९० र मासु भने ३०० सम्म बिक्री हुँदैछ । अहिले चीसोमा एक किलो तौलका रहु, ग्रFस, सिल्भर, भकुरा, इजरायल माछा प्रतिकिलो रु चार सयसम्म बिक्री भइरहेका छन् । यही जातका माछाहरू भने गर्मीमा १६० देखि दुई सयसम्ममा बिक्री हुन्छन् । माछापालक किसानहरूले गर्मीमा भन्दा जाडोमा बढी माछा मार्नुको कारण पनि यही हो । अहिले मलहाहरूलाई जाडोमा भ्याइनभ्याइ भएको छ । पोखरीबाट माछा मार्न मलहाहरूले मारिएको कुल माछाको १० प्रतिशत ज्याला लिने गर्छन् । जाडोमा मलहाहरूले १० कट्ठा क्षेत्रफलभन्दा सानो पोखरीको माछा मार्न रुचि देखाउँदैनन् । सानो पोखरीबाट माछा मार्दा उचित ज्याला नपाउने हुनाले उनीहरूले रुचि नदेखाएका हुन् । अहिले १० कट्ठाभन्दा बढी क्षेत्रफलका पोखरीहरूमा मलहाहरूले माछा मार्दै आएका छन् । उनीहरूलाई अहिले माछा मार्न भ्याइनभ्याइ भएको छ । पर्सामा मलहाहरूको सङ्ख्या थोरै छ । छिमेकी बारा जिल्लाबाट मलहा बोलाएर ठेक्कामा माछा मार्न लगाइँदैछ ।

माछापालनबाट आम्दानी राम्रो भएपछि पर्सा जिल्लाका किसानहरू परम्परागत अन्न उत्पादनका खेतीपाती छाडेर माछापालन व्यवसायमा लागिपरेका छन् । इन्धनको मूल्यवृद्धि, बीउबिजन, रासायनिक मल, कीटनाशक औषधिको अभाव, सिंचाइ समस्या, उत्पादित वस्तुको उचित मूल्य नपाउनेलगायत समस्याका कारण किसानहरूले अन्न उत्पादन गर्न त्यागेर अहिले माछापालनतर्फ आकर्षित हुन थालेका छन् । थरुहट क्षेत्रमा अन्न तीन बाली र बझियानमा दुई बाली हुने गरेको छ तर माछा भने वर्षमा चारपटक उत्पादन हुन थालेको छ । पहिले प्रत्येक चार महीनामा उत्पादन हुने माछा अहिले तीन महीनामा उत्पादन हुने गरेकोले पनि अन्य बाली गर्दै आएका किसानहरूको आकर्षण माछापालनमा बढेको हो ।

कृषि ज्ञान केन्द्र, पर्साको तथ्याङ्क अनुसार पर्सा जिल्लामा ५७१.०६ हेक्टर जलाशय क्ष्Fेत्र छ र त्यसमध्ये वार्षिक ४२९.७९ क्ष्Fेत्रफलमा माछापालन गरिंदै आएको छ । यो जिल्लामा वार्षिक ३१४४.३५ मेट्रिक टन माछा उत्पादन हुने गर्छ । जिल्लामा वार्षिक प्रतिव्यक्ति तीन किलो माछा खपत हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रले पर्सा जिल्लामा माछापालक किसानहरूको सङ्ख्या बर्सेनि बढिरहेको बताएको छ । अहिले पर्सा जिल्ला माछामा आत्मनिर्भर हुनुका साथै बाह्य जिल्ला मकवानपुर, चितवन, कास्की र काठमाडौं तथा भारतमा समेत यहाँका माछा बिक्रीको लागि जाने गरेको छ । एक दशक अघिसम्म यो जिल्ला माछामा आत्मनिर्भर थिएन र छिमेकी जिल्ला बारा तथा छिमेकी देश भारतबाट माछा आयात हुने गथ्र्यो । अहिले पर्सा जिल्लाका माछा बजारहरूमा भारतीय माछा आकलझुकल देखिने गरेका छन् । वैवाहिक कार्यक्रमहरूमा मात्र भारतीय माछाको प्रयोग हुने गरेको छ भने त्यसबाहेक स्थानीय बजारमा अहिले भारतीय माछा देखिंदैनन् । स्थानीय माछा सहजरूपमा पाउन थालेपछि भारतीय माछामा स्थानीयहरूले रुचि देखाउन छोडेका छन् । यसैगरी, किसानहरूले माछा उत्पादनका लागि चाहिने माछाको भुरा बारा र हेटौंडाबाट ल्याउने गरेकामा अहिले जिल्लामा नै माछाको भुरा उत्पादन हुन थालेपछि यहींबाट खरीद गरी पोखरीमा माछापालन गर्दै आएका छन् । पर्सामा आधा दर्जन बढी माछाको भुरा उत्पादन गर्ने फर्म खुलिसकेको माछापालक किसान सोहेम अन्सारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here