प्रस, वीरगंज, १० माघ/
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज महानगर–१६ नगवास्थित शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा शुभलक्ष्मी टे«डर्सबाट मिति उल्लेख नभएका पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घण्टाभित्र सोको कागजातसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा उपस्थित हुन निर्देशन दिएको मञ्चका उपाध्यक्ष अजय अधिकारीले बताए ।

शुभलक्ष्मी ट्रेडर्स र शुभलक्ष्मी प्याकेजिङले भारत, गुजरातबाट उत्पादन हुने भिक्टोरिया कम्पनीका जीरा, धनिया, मेथी, खुर्सानीको धूलो, सौंपलगायत सामग्री आयात गरी आफ्नो उद्योगको ब्रान्डमा प्याकिङ गरी बिक्री गर्दै आएको आन्तरिक राजस्व कार्यालय, पर्साका दीपेन्द्रकुमार झाले बताए । उनले सो फर्मले राजस्व छलेको आशङ्का गर्दै कागजहरू झिकाएर अनुसन्धान गर्ने बताए ।

त्यसैगरी, वीरगंज–१६ रजतजयन्ती चोकस्थित नीर–जल प्रालिमा टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा गुणस्तरहीन पानी र जार नष्ट गरेको थियो । आन्तरिक राजस्व कार्यालयले कागजात चेकजाँच गर्दा पानी बिक्री वितरण गर्ने क्रममा बिलबीजक जारी नगरेको भेटिएपछि उद्योगलाई ५० हजार जरिबाना गर्दै आवश्यक कागजात र पानी प्रशोधन रिपोर्ट २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।

टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य निरीक्षक श्रवणकुमार साह, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनील चौरसियालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here