प्रस, पर्सागढी, २२ पुस/
पर्सा जिल्लाका सातवटा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिहरूको भेला सोमवार पर्सागढी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
जीतपुरदेखि पश्चिम ठोरी हुँदै भरतपुर महानगरपालिकाको २४ कोठीसम्म जोडिने जनता र थरूहट सडकको निर्माण तथा स्तरोन्नतिका लागि साझा भेला गरी विभिन्न समिति गठन गरिएको छ। भेलाले ती सडकखण्डमा पर्ने आधा अधूरा पुलहरूको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
सो कार्यको सहजीकरण तथा संयोजनको जिम्मेवारी पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकको नेतृत्वमा १५ सदस्यीय समितिलाई दिइएको छ। यो समितिमा १४ वटै पालिकाका जनप्रतिनिधिहरू छन्। सदस्यसचिव भने स्वास्थ्य शाखा अधिकृत नारायणप्रसाद पौडेललाई तोकिएको छ। भेलामा गापा प्रमुख यशवन्त यादव, लालबहादुर श्रेष्ठ, दिनेशकुमार चौधरी, उपप्रमुख ममता महतो, जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष सुनीलकुमार गुप्ता, पटेर्वासुगौली गापाका वडाध्यक्ष
विजय गैरे, पर्सागढी नगरपालिकाका वडाध्यक्ष सुकमान तामाङ, रामबडाई यादवलगायतको सहभागिता थियो।