हाटबजार सेड सञ्चालनमा ढिलाइ

प्रस, पंचगावाँ, २१ पुस/
पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीस्थित भुमरीमाई (बुलबुले ताल) नजीक करोड मूल्यको लागतमा निर्माण भएको हाटबजार सेड सात महीना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । गत आव २०८०/८१ को असार मसान्तमा हाटबजार सेडको निर्माण कार्य सम्पन्न भएको थियो । सङ्घ र पालिकाको संयुक्त लगानीमा एक करोड बढीमा पक्की हाटबजार सेड निर्माण सम्पन्न भएको थियो ।

रङ्गपुरटाँडीमा सडक फूटपाथमा हाटबजार साप्ताहिकरूपमा सोमवार र शुक्रवार लाग्ने गरेको छ । सडक फूटपाथमा हाटबजार लाग्दा बजारको दिन सो सडकखण्ड भएर आवतजावत गर्न समस्या हुने भएकोले पालिकाले रङ्गपुर बजारदेखि पाँच सय मिटर उत्तर भुमरीमाई मन्दिर क्षेत्रमा पक्की हाटबजार सेड निर्माण गरेको हो ।

गापाध्यक्ष दिनेश चौधरीले सङ्घ र पालिकाको बजेटबाट एक करोड बढीको लागतमा पक्की हाटबजार सेड निर्माण भएको र त्यसमा बिजुली बत्ती जडान तथा स्तनपान कक्ष निर्माण गर्न बाँकी भएकोले सञ्चालनमा आउन नसकेको बताए । उनले माघ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गरेर सेड सञ्चालनमा ल्याउने बताए ।