नेपालमा कानूनतः बालविवाह अपराध हो । फेरि पनि यहाँ बालविवाह नियन्त्रण हुन सकेको छैन । अझै पनि यहाँका मन्त्री, प्रधानमन्त्रीलगायत उच्च ओहोदाका व्यक्तिहरूले ‘बालविवाह गर्नेलाई कारबाई हुन्छ है’ भन्दै हिंड्नुपरेको छ । भर्खरै मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्रीले एक कार्यक्रममा यसै भने ‘बालविवाह गर्ने गराउनेलाई कानून अनुसार सजाय हुन्छ’ । यसको मतलब बालविवाह गर्नुहुन्न भन्नेबारे ठूलो समुदाय अनभिज्ञ छ । जसलाई कानून थाहा छ, उसले बालविवाह किन गर्न नहुने भन्ने कुरा बुझेको छैन । जसले बुझेर पनि बुझ पचाइरहेको छ, त्यस्तालाई तुरुन्त कठघरामा उभ्याउने तदारूकता छैन । बालविवाह केवल कानून कार्यान्वयन नहुँदाको परिणाम मात्रै चाहिं होइन, यो सामाजिक, आर्थिक र सांस्कृतिक जटिलताहरूको परिणाम पनि हो । यद्यपि पछिल्ला वर्षहरूमा यसमा केही कमी आएको भए तापनि नियन्त्रण हुन सकेको छैन । बालविवाहले मातृशिशु मृत्युदर, महिला हिंसा, आत्महत्याका घटनाहरू हुने एवं दाइजोप्रथा र महिला निरक्षरतालगायतका समस्याहरू निम्त्याएका छन् ।
बालविवाहको प्रत्यक्ष असर पुरुषभन्दा महिलालाई बढी पर्छ । यसले किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमाथि गम्भीर असर पु¥याइरहेको छ । कम उमेरमा गर्भावस्था हुँदा मातृशिशु मृत्युदर उच्च छ । आमाको कमजोर शारीरिक अवस्थाका कारण बालविवाहबाट जन्मिने बालबालिका प्रायः कुपोषित हुन्छन् । महिला हिंसाको अर्को रूप दाइजोप्रथासँग बालविवाह प्रत्यक्षरूपले जोडिन्छ । बालविवाहपछि बालिका प्रायः आर्थिकरूपमा आत्मनिर्भर हुन सक्दैनन् । यसले लैङ्गिक एवं पारिवारिक हिंसाको शिकार बन्ने सम्भावना हुन्छ । शिक्षाबाट वञ्चित हुनु बालविवाहको प्रत्यक्ष प्रभाव हो । किशोरीहरू विद्यालय छोडेर विवाहित जीवन बिताउन पुग्दा महिला साक्षरता दरमा कमी आउँछ । साक्षरता अभावका कारण बालिका आत्मनिर्भर बन्न सक्दैनन्, यसले परिवारलगायत समग्र समाजको आर्थिक विकासमा बाधा पु¥याउँछ ।
नेपालको प्रचलित कानूनले २० वर्षभन्दा मुनिका बालबालिकाको विवाहलाई गैरकानूनी ठहर गरेको छ । विवाहमा संलग्न अभिभावक र अन्य सदस्यहरू उपर पनि कारबाही हुन्छ । तर यी कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सामाजिक र सांस्कृतिक परम्पराहरू, आर्थिक अभाव, अशिक्षा र जागरूकताको कमी बालविवाहका प्रमुख कारण हुन् । कतिपय परिवार तथा समुदाय एवं क्षेत्रमा बालिका जन्मनु भनेको अरूको घर जाने ठान्छन् । यसर्थ पनि छिटो विवाह गरिदिनु उचित सम्झन्छन् । आर्थिकरूपमा कमजोर परिवारले छोरीको दाइजो खर्च घटाउन जतिसक्दो छिटो विवाह गरिदिन्छन् । कानूनको कार्यान्वयन पक्ष फितलो भएकै कारण प्रभावकारी कार्यान्वयनमा नदेखिएको हो । त्यसैगरी, स्थानीय निकाय, प्रहरी प्रशासन र समुदायस्तर जो बालबालिकाका रक्षक र कानूनका पालक हुन्, उनीहरूमा समेत बालविवाहविरुद्ध चेतना उठेको छैन । बालविवाह अन्त्य गर्न सबैभन्दा प्रभावकारी उपाय किशोरीहरूलाई शिक्षामा जोड्नु हो । सरकारी तथा गैरसरकारी संस्थाहरूले लक्षित क्षेत्रमा विशेष शिक्षा अभियान सञ्चालन गर्नुपर्छ । त्यसैगरी, बालिकाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालीमहरू उपलब्ध गराउने, नागरिक अगुवाहरूको नेतृत्वमा स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन र कानूनलाई कडाइका साथ लागू गर्न जरुरी छ ।