प्रस, वीरगंज, १२ मङ्सिर/
बहुदरमाई नगरपालिकाका कर्मचारीहरूले अहिलेसम्म तलब पाएका छैनन् । चालू आवको साउनदेखि कात्तिकसम्म गरी चार महीनाको तलब कर्मचारीहरूले नपाएको एकजना कर्मचारीले बताए । दशैं, दीपावली र छठ बितिसकेको र अब गढीमाईको पञ्चवर्षीय मेला शुरू भइसक्दा पनि उनीहरूले तलब नपाएपछि निराश भएको बताइन्छ । नगरप्रमुख सिंगासन साहले नगरसभाको निर्णय प्रमाणित गरी सिफारिश नगर्दा बहुदरमाई नपाको खाता सञ्चालनमा आउन नसकेर कर्मचारीहरूले अहिलेसम्म तलब नपाएका हुन् ।
यो नपाको नगरपरिषद् कात्तिक ८ गते सम्पन्न भएको थियो । परिषद् सम्पन्न भएपछि परिषद्को निर्णय सिफारिश गर्ने अधिकार नगरप्रमुखलाई हुने हुँदा उनले अहिलेसम्म सिफारिश नगरेका कारण खाता सञ्चालनमा आउन नसकेको हो । नगरप्रमुखले परिषद्को निर्णय र कार्यपालिकाको निर्णय प्रमुख प्रशासकीय अधिकृतले सिफारिश गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएपछि मात्र पालिकाको खाता सञ्चालनका लागि कोलेनिकालाई स्वीकृति प्रदान भएर आउँछ । त्यसपछि पालिकाले सङ्घ सरकारबाट प्रदान गरिएका सेवासुविधाहरू प्राप्त गर्छ । अहिले पर्सा जिल्लामा बहुदरमाई नपाको मात्र खाता सञ्चालनमा छैन ।
कोलेनिका पर्साका मनीष गौतमले १४ पालिकामध्ये बहुदरमाई नगरपालिकाको मात्र खाता अहिलेसम्म सञ्चालनमा नरहेको बताए । नगरप्रमुख सिंगासन साहले कात्तिक ८ गते नगरसभा सम्पन्न भएको र त्यसपछि बिदा भएर कात्तिक २० गते मात्र कार्यालय सञ्चालनमा आएको हुँदा परिषद्को निर्णय अध्ययन गर्न नसकेकोले सिफारिश नगरेको छठताका प्रतीकलाई प्रतिक्रिया दिएका थिए । तर छठ बितेको तीन सातापछि आज उनले वडास्तरीय बजेट एक करोड दिएकोमा विकास कार्यका लागि २० प्रतिशत र अन्य खर्चमा ८० प्रतिशत छुट्टयाइएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले वडाध्यक्षहरूले कमिशनका कारण विकास बजेट कम र अन्यमा बढी बजेट बनाएको आरोप लगाए ।
बहुदरमाई नपामा अहिले नगरप्रमुख र उपप्रमुख दुई समूहमा विभाजित छन् । प्रमुख प्रशासकीय अधिकृत पनि यही विवादमा बहुमत पक्षमा रहेको बताइन्छ । यही कारणले बहुदरमाई नपाको परिषद् असारमा सम्पन्न हुन सकेन र लामो प्रयासपछि कात्तिक ८ गते सम्पन्न भएको थियो । यसबीचमा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले स्वास्थ्यकर्मीहरूको भर्नासम्बन्धी सूचना जारी गरेपछि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद चुलिएको स्रोतले जानकारी गराएको छ । नगरप्रमुखकै निगरानीमा समिति बनेर परीक्ष्Fा लिएको र एकथरीको नतीजा प्रकाशन भएको र अर्काथरी स्वास्थ्यकर्मीको नतीजा प्रकाशनमा ढिलाइ गरिएको थियो । नगरप्रमुख सिंहले यो कुरामा आपत्ति जनाउँदै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले नगरप्रमुखकै उपस्थितिमा परीक्ष्Fा लिएको र सोको नतीजा प्रकाशन भएको दाबी गर्दै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पालिकातर्पmको निर्णय आपूmले पठाएको तर नगरप्रमुखलाई निर्णय पठाउने अधिकार भएकोले उनले निर्णय सिफारिश गरी नपठाउँदा खाता सञ्चालनमा आउन नसकेको प्रतिक्रिया दिए । उनले वडाध्यक्षहरूले पेश गरेको बजेटमा चित्त नबुझे नगरप्रमुखले विशेष अधिवेशन गरेर गाँठो फुकाउन सक्ने भन्दै आर्थिक कारोबार ठप्प हुँदा कार्यालय सञ्चालनमा पनि असर परिरहेको बताए । उनले अहिलेसम्म सामाजिक सुरक्ष्Fा भत्ताबाहेक कर्मचारी, निजामती, दैनिक ज्यालादारी, करार, शिक्ष्Fक, स्वास्थ्यकर्मी गरी ५०० जनाको तलब साउनदेखि दिन नसकिएको बताए ।
यसैबीच, नेपाल विद्यार्थी सङ्घ पर्साले आज बहुदरमाई नपाको बेथितिका कारण शिक्षकहरूले तलब नपाएका कारण मङ्सिर ९ गतेदेखि विद्यालय बन्द भएको भन्दै अविलम्ब तलब खुवाउने वातावरण सिर्जना गराएर विद्यालयको शैक्षिक गतिविधि सञ्चालनमा ल्याउन आग्रह गरेको छ । नेविसङ्घ पर्साका अध्यक्ष रमेश यादव नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई ज्ञापन बुझाएको थियो ।