प्रस, परवानीपुर, ५ असोज/
खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई प्राथमिकतामा राखेर मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सुधारका कार्यहरू गर्दै आएको बताएका छन् ।
बारा जिल्ला जीतपुरसिमरा उपमहानगरमा शनिवार आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २२औं वार्षिक साधारणसभामा मन्त्री यादवले संस्थाको महŒवपूर्ण भूमिका र योगदानको प्रशंसा पनि गरे । उनले मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएका पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको बताए ।
सफा, सुरक्षित र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार भएको उनले बताए । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ, हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ –मन्त्री यादवले भने ।
उनले मधेसमा ८० प्रतिशत घरधुरीका चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको चर्चा गर्दै खानेपानी मन्त्रालयले यो समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मतसम्भारलाई निरन्तरता दिंदै आएको पनि बताए ।
सुनकोशी–मरिन डाइभर्सन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिन्छ भन्दै यो परियोजनाले सिंचाइ मात्र नभएर खानेपानी आपूर्तिमा पनि योगदान पु¥याउने दाबी गरे ।
उनले ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्नेतर्फ काम भइरहेको बताए । मन्त्रीले यादवले सिमरा खानेपानी समितिको माग अनुसार नयाँ टङ्की निर्माण र डीप ट्युवेल जडानका योजनाहरू प्राथमिकतामा राखिएको बताए ।
समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको सहभागिता थियो ।