प्रस, पोखरिया, ५ असोज/
धर्म, संस्कृति र नागरिक बचाउ अभियानले शनिवार राति पोखरिया नगरपालिकामा मशाल जुलुस निकालेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि लागेको मुद्दा झूटो रहेको र सो मुद्दा खारेज हुनुपर्ने मागसहित पोखरिया नपा–४ स्थित हनुमान मन्दिरबाट मशाल जुलुस निकालिएको थियो ।
धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक इन्दिरा मोक्तानको नेतृत्वमा निकालिएको मशाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । इलाका प्रहरी र सशस्त्र प्रहरी बेसका सुरक्षाकर्मीहरूले मशाल खोसेर मानिसहरूलाई तितरबितर पार्दै मशाल निभाएका थिए ।
प्रदर्शनमा करीब २५ जना सहभागी थिए । विनासूचना मशाल प्रदर्शन गरिएकोले सोबारेमा प्रहरीलाई पछि मात्र थाहा भएको थियो । बजार क्षेत्रमा प्रदर्शन गरिएको र प्रहरी आसपास भएकाले तत्काल नियन्त्रण भएको थियो ।