प्रस, रौतहट, ५ असोज/
राजपुर नगरपालिका वडा नं ३ र ४ मा तीन दिनमा झाडापखालाका ५१ जना बिरामी देखिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा यही असोज ३ गतेदेखि दुईवटा वडामा ५१ जना झाडापखालाका बिरामी फेला परेको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले बताए ।
उनले प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आएकामध्ये सातजनाको आरडिटी प्रविधिबाट परीक्षण गर्दा छजनामा हैजाको कीटाणु फेला परेपछि कल्चर परीक्षणको लागि जनकपुर पठाइएको बताए ।
शनिवारसम्म सो केन्द्रमा उपचारको लागि ५१ जना झाडापखालाका बिरामीहरू पुगेका र तीमध्ये २० जना निको भएर घर फर्किसकेका तथा ३० जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख आलमले बताए ।
बिरामी परेकाहरूले चापाकल र खानेपानी संस्थानको पानी पिउने गरेको उपचारका क्रममा बिरामीबाट बुझिएको उनले बताए । उनले यसबारेमा पनि अनुसन्धान शुरू गरिएको बताए ।
मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव सञ्जयकुमार ठाकुरसहितको विशेषज्ञहरूको टोली शनिवार प्राथमिक स्वास्थ्य केन्द्र पुगेर घटनाबारेमा स्थलगत अध्ययन शुरू गरेका छन् । सचिव ठाकुरले झाडापखाला प्रभावित क्षेत्रमा हैजाका समेत बिरामी फेला परेकाले महामारी फैलन नदिनका लागि मन्त्रालयबाट औषधिसहित चिकित्सकहरूको टोली पठाउने बताए ।
सचिव ठाकुरले भोलि आइतवारदेखि नै झाडापखालाका बिरामीहरूको थप परीक्षण शुरू गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमले बताए ।