प्रस, वीरगंज, ४ असोज/
वीरगंज महानगरपालिकाले ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानी पु¥याउनका लागि गुरुयोजना तयार गरी सोही अनुसार कार्य गर्ने तयारी थालेको छ ।
वीरगंज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ योजना लागू गरी महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पु¥याउन शुक्रवार सम्पन्न बैठकमा सहमति भएको छ । नगरप्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधान गर्न गुरुयोजना बनाएर कार्यान्वयन गर्ने सहमति बनेको बताइएको छ ।
बैठकमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको नगरप्रमुख सिंहले बताए । उनले सुरक्षित खानेपानी परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय गरेको बताए ।
बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागू गर्ने निर्णय भएको बताइएको छ ।
बैठकमा उपप्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इन्जिनीयर निरण महर्जन, प्रवीणकुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्रबाबू ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनीयर प्रकाश अमात्य, राकेश साहलगायतको सहभागिता थियो ।