प्रस, वीरगंज, २९ भदौ/
ब्रह्माकुमार राजयोग सेवा केन्द्र तथा स्थानीय नागरिकको सहयोगमा मनहरि (मकवानपुर)मा आमाघर सेवा आश्रम निर्माण भएको छ । स्थानीय समाजसेवी रामचन्द्र उप्रेतीले दान दिएको तीन कट्ठा जग्गामा १०० जना वृद्धवृद्धा तथा असहायहरूलाई बस्नका लागि सो भवन निर्माण भएको शनिवार आयोजित स्नेह मिलन कार्यक्रममा ब्रह्मकुमार विजय भाइले जानकारी दिए । उनले जनसहयोग, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सक्रियता, स्थानीय तथा प्रदेश सरकारको सहयोगमा रु आठ करोडमा भवन निर्माण भएको बताएका थिए । हाल भवनमा १६ जना महिला–पुरुष असहायहरू बसिरहेका छन् । उनीहरूको जीवन सुखमय बनाउन ध्यान, राजयोगको अभ्यास गराइने गरेको बताइएको छ ।
संस्थाको लागि त्यहाँ कार्यरत वन समूहले १२ बिघा जग्गासमेत प्रदान गरेको छ, जसमध्ये दुई कट्ठामा सुन्दर पार्क, डुङ्गा खेल्ने पोखरी, ध्यान केन्द्र आदि निर्माण भएका छन् । सुन्दर र मनमोहक वातावरणमा असहायहरूलाई राखेर उनीहरूले नपाएको खुशी प्रदान गर्ने सेवा केन्द्रको प्रयास रहेको भाइ विजयले बताए ।
कार्यक्रममा मकवानपुर, चितवन तथा पर्सामा कार्यरत पत्रकारहरूलाई सहभागी गराइ संस्थाको प्रचारप्रसार तथा दीनदुःखीसम्म आमाघर निर्माण भएको कुरा पु¥याइदिन अनुरोध गरिएको थियो ।
जग्गादाता रामचन्द्र उप्रेतीको अध्यक्ष्Fतामा सम्पन्न स्नेह मिलन कार्यक्रममा पर्साबाट जगदीशप्रसाद शर्मा, मकवानपुरबाट नवराज शर्मा तथा चितवनबाट ईश्वरजीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत लक्ष्मी हुमागाईंले गरेकी थिइन् भने धन्यवाद टीकाराम लामिछानेले गरेका थिए । पत्रकार जगदीश शर्मा र रञ्जन कालाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।