प्रस, वीरगंज, १५ भदौ/
पर्सा र बारामा गरी शनिवार तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा दुईजना महिलासहित १७८ जनाले रक्तदान गरेका छन् ।
नेपाल तरुण दल, पर्साले वीरगंजको माईस्थान पार्कमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १२२ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् । कार्यक्रममा विशाल साह, पवन पटेल, रोशनकुमार गुप्ता, आकाशकुमार साह, शत्रुघ्नकुमार यादव, नाजीर अन्सारी, शेखकुमार हजरा, विवेक गुप्ता, यमबहादुर क्षेत्री, समीर मन्सुरी, धीरज चौधरी, सुनील दास थारू, सुरज कर्ण, रामकुमार मण्डल, मनोहरकुमार साह, मुकेशकुमार पटेल, अमितकुमार साह, समीर अन्सारी, प्रकाश यादवलगायतले रक्तदान गरेको उनले बताइन् ।
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षता तथा मधेस प्रदेशका मन्त्री जनार्दन सिंह क्षत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष किरण शर्मालगायतको सहभागिता थियो ।
यसैगरी, वीरगंज–१३ राधेमाईमा गोपाल सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । कार्यक्रममा दिनेश साह कानू, रवीन्द्र यादव, हरिलाल साह, अशोक यादवलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, जीतपुरसिमरा उपमहानगरको सिमरामा नेपाल अटोमेकानिकल ट्रेड युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३७ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक मनीष कुमारले बताए ।