राधेश्याम पटेल, परवानीपुर, १० भदौ/
अस्पतालको उपचार शुल्क तिर्न नसकेर एक युवक घर जान पाएका छैनन् ।
वीरगंज–१४ स्थित गण्डक हस्पिटल प्रालिको उपचार शुल्क र औषधिबापतको करीब रु दुई लाख तिर्न नसकेर वीरगंज–३१ लक्ष्मीपुरका २० वर्षीय युवक दीपलाल महतो नुनिया १० दिनदेखि घर जान पाएका छैनन् ।
घरमा चरा मार्न राखिएको विष खाएर गत साउन २२ गते घरमा सिकिस्त भएपछि उनलाई एम्बुलेन्सबाट उपचारको लागि वीरगंज ल्याइएको थियो । एम्बुलेन्स चालकले गण्डक अस्पतालमा पु¥याएपछि उनको उपचार त्यहाँ शुरू भयो ।
करीब नौ दिनको उपचारपछि उनलाई गत साउन ३१ गते होश आएको थियो । तर होश आएर निको भई चिकित्सकले डिस्चार्ज गर्दा उपचारबापतको रकम तिर्न नसकेर घर जान नसकेको दीपलालका बुबा सत्यनारायण महतो नुनियाले बताए ।
उनले उपचारमा अस्पताल र औषधिपसलको गरी करीब रु दुई लाख ५४ हजार खर्च भएको र आफूहरू गरीब भएकोले सो खर्च तिर्न नसकेको बताए । रु दुई लाख ५४ हजारमध्ये हालसम्म ७५ हजार शुल्क आफन्तजन र चन्दा उठाएर अस्पताल र फार्मेसीलाई दिएको र बाँकीको व्यवस्थापन हुन नसकेको उनले बताए ।
अहिले पनि अस्पताल र फार्मेसीलाई करीब पौने दुई लाख दिन बाँकी छ । ऐलानी जग्गामा बसोबास गर्ने नुनिया परिवार गाउँघरमा अर्काको खेतमा दैनिक ज्यालादारी गरी पेट पाल्छन् । उनले आफ्नो आर्थिक अवस्था राम्रो नभएको तर अस्पतालले बिल भरपाई नगरी बिदा नदिएकोले समस्यामा परेको बताए ।
अस्पताल प्रशासन प्रमुख अकरम हुसेनले आफूहरू बिरामीमैत्री भएको तर उपचारमा उठेको बिलमा छुट मात्र दिन सक्ने मिनाहा गर्न नसकिने बताए । उनले बिल भुक्तानी नगरिएको कारण बिरामी नरोकिएको र अहिले उपचारमा रहेको बताए ।